बारा, ८ मंसिर । अखिल नेपाल औद्योगिक मजदुर संघको नेतृत्वमा सिमरास्थित जगदम्बा स्टिल, भगवती स्टिल र पर्साको त्रिवेणी स्पिनिङ उद्योगका मजदुरहरूले आज संयुक्त रूपमा र्यालीसहित स्थानीय प्रशासनलाई ज्ञापनपत्र बुझाएका छन् ।
बारा–पर्सा औद्योगिक करिडोरका मजदुरहरूले प्रदर्शन गर्दै स्थानीय प्रशासनलाई बुझाएको ज्ञापनपत्रमा मजदुरहरूले सरकारले साउन १ गतेदेखि लागु हुनेगरी वृद्धि गरेको न्यूनतम तलब लागु गर्नुपर्ने माग गरेका छन् ।
त्रिवेणी स्पिनिङ मिलमा श्रमिकमाथि भएको कारबाही फिर्ता गरी कारखाना सञ्चालन गर्ने वातावरण बनाउनुपर्ने, सिमरास्थित जगदम्बा स्टिलमा सम्झौता अनुसार बोनस उपलब्ध गराई श्रमिकमाथिको झुटा मुद्दा फिर्ता गर्नुपर्ने, प्रतिष्ठानभित्र प्रहरी हस्तक्षेप बन्द गर्नुपर्ने र उद्योगभित्र श्रमिकमैत्री वातावरण हुनुपर्ने लगायतका माग राखेका छन् ।
अखिल नेपाल औद्योगिक मजदुर संघका केन्द्रीय अध्यक्ष बेनीप्रसाद तिमल्सिनाले करिडोरमा मुख्य समस्या भएका जगदम्बा स्टिल, त्रिवेणी स्पिनिङ र भगवती स्टिल उद्योगमा कार्यरत मजदुरहरूले कानुनअनुसार सेवा–सुविधा माग गर्दा झडपको स्थिति सिर्जना भएको टिप्पणी गरेका छन् ।
केन्द्रीय अध्यक्ष तिमल्सिनाले कुटपिटको बहाना बनाएर उद्योगले ३६ जना मजदुर नेताहरूलाई गरेको कारबाही फुकुवा गरेर उद्योग चलाउनुपर्ने माग गरे । जगदम्बा स्टिलमा पनि सम्झौताअनुसार दसैंमा पाउनुपर्ने बोनस रकम नदिएर उल्टै मजदुरहरूविरूद्ध अदालतमा मुद्दा दायर गरिएकाले यो गलत भएको उनको भनाइ छ ।
बारा–पर्सा औद्योगिक करिडोरमा सूर्य नेपाल, डाबर नेपालबाहेक अधिकांश उद्योगले सरकारले लागु गरेको न्यूनतम पारिश्रमिक, योगदानमा आधारित सामाजिक सुरक्षा कोष, बोनसलगायत सेवा सुविधा नदिएको मजदुरहरूको गुनासो छ ।
यता, त्रिवेणी स्पिनिङमा कार्यरत १ हजार ५ सय मजदुर उद्योग बन्द भएपछि अलपत्र परेका छन् । अखिल नेपाल औद्योगिक मजदुर संघ बाराले बुझाएको ध्यानाकर्षण पत्र बुझ्दै इलाका प्रशासन कार्यालय सिमराका प्रमुख राजेन्द्र प्रसाद कँडेलले मजदुरहरूका समस्याका विषयमा तत्कालै प्रमुख जिल्ला अधिकारीलाई जानकारी गराउने बताए ।
मधेश प्रदेश उद्योग विभागका महानिर्देशक तथा सहसचिव सुशील कुमार साहले समस्या समाधान गर्न पहल गर्ने बताएका छन् ।











