वीरगंज, ८ मंसिर । बारा जिल्लाको पचरौता नगरपालिकाको सीमावर्ती क्षेत्रमा आइतवार राति तस्कर र प्रहरीबीच जम्माभेट भएपछि दुवैतर्फबाट गोली हानाहान भएको छ ।
मंसिर ७ गते राति १०ः४५ बजेको समयमा इलाका प्रहरी कार्यालय सिम्रौनगढ बाराबाट खटिएको प्रहरी गस्ती टोलीले गस्तीको क्रममा जिल्ला बारा, पचरौता न.पा.वडा नं. ६ चिकनी टोलस्थित भारतको हनुमाननगर तर्फबाट नेपालतर्फ चारवटा भारतीय नम्बरको मोटरसाइकल र नम्बर नभएको ट्याक्टरमा तस्करीका सामानहरू लोड गरी आउदै गरेको २५ जना तस्करहरूको समूहसँग एक्कासी प्रहरीको जम्का भेट भएको थियो ।
प्रहरीले तस्करहरूलाई समात्न खोज्दा प्रहरीमाथि एक्कासी कटुवा बन्दुकबाट २ राउण्ड गोली फायर भएपछि प्रहरी गस्ती टोलीले पेस्तोलबाट ७ राउण्ड जवाफी फायर गरेको थियो ।
प्रहरीले फायर गरेपछि तस्कर समूहहरू ट्याक्टर सहित भारततिर भागेको जिल्ला प्रहरी कार्यालय बारा, कलैयाले जनाएको छ ।
इलाका प्रहरी कार्यालय सिम्रौनगढ बाराबाट प्रहरी निरीक्षक कृष्णदेव प्रसाद साहको कमाण्डमा थप १० जनाको प्रहरी टोली घटनास्थलमा पुगेर तस्करहरूले छाडेको मोटरसाइकल र अन्य सामानहरू नियन्त्रणमा लिएको छ ।
घटनास्थल वरिपरि दसगजामा छोडेको सामानहरुमा भारतीय नं.को चारवटा मोटरसाइकल, भारतीय सीम रहेको दुई मोबाइल र भारतीय नागरिक रंजित कुमारको सवारी चालक अनुमति पत्र बरामद भएको जिप्रका, बाराले जनाएको छ ।











