वीरगंज , मंसिर – ९
त्रेतायुगमा मङ्सिर शुक्ल पञ्चमीका दिन भगवान् राम र सीताको विवाह भएको सम्झनामा आज देशभर विवाह पञ्चमी पर्व धूमधामले मनाइँदैछ। विशेषगरी मिथिलाको ऐतिहासिक राजधानी जनकपुरधाममा राम–सीताको पौराणिक विवाह संस्कार भव्यरूपमा सम्पन्न हुँदैछ।
गोस्वामी तुलसीदासद्वारा वर्णित रामायणका आधारमा मिथिलावासीले यो दिनलाई धार्मिक, सांस्कृतिक र ऐतिहासिक महोत्सवका रूपमा मनाउने परम्परा रहिआएको छ। मिथिलाका राजा जनकले राखेको स्वयंवरमा अयोध्याका राजकुमार रामले शिवधनुष भाँचेर सीताको वरण गरेको दिन नै मङ्सिर शुक्ल पञ्चमी मानिन्छ।
पौराणिक कथनअनुसार जनकपुरको रङ्गभूमिमा भएको स्वयंवरमा ५६ कोटी देवताको अदृश्य उपस्थिति रहेको विश्वास गरिन्छ। सीतालाई छोरी–बहिनीको सम्मान दिने मिथिलावासी यो पर्वमा विशेष हर्षोल्लासका साथ सहभागी हुन्छन्।
विवाह महोत्सवका क्रममा मिथिला सांस्कृतिक परम्पराअनुसार मटकोर, तिलकोत्सव, स्वयंवर र विवाह संस्कार सम्पन्न गरिन्छ। राम मन्दिरबाट भगवान् रामको प्रतिमालाई झाँकी, बाजागाजा र विशेष डोला सिंहासनसहित रङ्गभूमितिर लगिन्छ। त्यस्तै, जानकी मन्दिरबाट सीतालाई सुसज्जित डोलामा राखी रङ्गभूमिमा पुर्याइन्छ।
स्वयंवर तथा विवाह विधि सम्पन्न भएपछि राम–सीतालाई पुनः जानकी मन्दिरमा लैजाई मिथिला रीतिअनुसार विवाह पूजासंस्कार गरिन्छ। यस अवसरमा निस्कने डोला शोभायात्रामा देशका विभिन्न भागसहित भारतका सीमावर्ती क्षेत्रबाट आएका भक्तजनहरूको ठूलो सहभागिता रहने जनकपुरधाम क्षेत्र विकास समितिले जनाएको छ।
विवाह पञ्चमीले मिथिलाको सांस्कृतिक पहिचान, धार्मिक आस्था र पौराणिक परम्परालाई आज पनि जीवन्त राख्दै आएको छ।











