वीरगंज , मंसिर – ९
बारामा धान दाइँ गर्ने कम्पाइन मेसिनले मोटरसाइकललाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ भने एकजना गम्भीर घाइते भएका छन् । मृत्यु हुनेमा रौतहटको मौलापुर नगरपालिका–३ गम्हरिया गाउँका २२ वर्षीय रुपेश साह सोनार रहेको जिल्ला प्रहरी कार्यालय बाराले जनाएको छ ।
घटना सोमबार राति महागढीमाई नगरपालिका बरियार इनर्वा चोक नजिकैको धरमपुर भुतही पुल नजिक भएको हो । मधेस प्रदेश ०३–००१ त ८३२० नम्बरको कम्पाइन मेसिनले सोनारले चलाएको मोटरसाइकललाई ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
मोटरसाइकलमा सँगै सवार उनका साला, बाराको कोल्हवी बजारका २६ वर्षीय सुनिल साह सोनार गम्भीर घाइते भएका छन् । उनलाई थप उपचारका लागि काठमाडौँ पठाइएको छ ।
रुपेशले चलाएको अपाची मोटरसाइकल ठक्करपछि जलेर पूर्णरूपमा नष्ट भएको प्रहरीको भनाइ छ ।
कम्पाइन मेसिनका चालक फरार रहेका छन् भने उनको खोजी कार्य जारी रहेको जिल्ला प्रहरी कार्यालय बाराका प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले जानकारी दिए ।











