वीरगंज, १० मंसिर । वीरगंज सुपर लिग (बिएसएल) क्रिकेट प्रतियोगिताको फाइनलमा ड्रागन्स अफ साहिब दरबार वीरगंजमा प्रवेश गरेको छ ।
बुधवार भएको खेलमा साउथ जोन स्टार्सलाई ५ विकेटले पराजित गर्दै साहिब दरवार लिग चरणका ४ मध्ये ३ खेलमा जीत हात गरी फाइनलमा प्रवेश गरेको हो।
नारायणी क्रिकेट मैदानमा बुधवार भएको खेलमा साउथ जोनले दिएको १०६ रनको लक्ष्य साहिब दरवारले ९.३ ओभरमै केवल ५ विकेट गुमाएर पूरा गर्याे। अभय सिंहले सर्वाधिक ४६ रन र इरफान मियाँँले २९ रन बनाए ।
बलिङतर्फ साउथ जोनका आदित्य ठाकुरले २ र महमद अफसर हसनले १ विकेट लिए ।
यसअघि पहिले व्याटिंग गरेको साउथ जोनले निर्धारित २० ओभरमा ७ विकेट गुमाएर १०५ रनमात्रै बनाएको थियो । अन्जन यादव र अकिब अन्सारीले समान २०–२० रन बनाए भने बलिङ्तर्फ साहिब दरवारका कमल गुप्ताले २ तथा भुलावन सहनीले १ विकेट लिए ।
बिहीवार ११ बजेदेखि हुने फाइनल खेलमा साहिब दरबारले मधेस इलिट्ससँग प्रतिस्पर्धा गर्ने प्रतियोगिताका संयोजक एवं पूर्व राष्ट्रिय खेलाडी हासिम अन्सारीले जानकारी दिए ।
वीरगंज युथ स्पोट्र्स एकेडेमीले आयोजना गरेको प्रतियोगितामा साउथ जोन स्टार्स, ड्रागन्स अफ साहिब दरवार, मधेस इलिट्स, रोयल वीरगंज ११ र अपन कालिकामाई गरी पाँच फ्रेन्चाइजी टिमले भाग लिएका छन् ।












