नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा काठमान्डु गोर्खाजले चितवन राइनालाई ५३ रनले पराजित गर्दै आफ्नो तेस्रो जीत हासिल गरेको छ।
कीर्तिपुरको त्रिवि क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको काठमान्डुले १९ ओभर ४ बलमा १४२ रन बनायो। काठमान्डुको लागि जोन सिम्पसनले सर्वाधिक ६० रन बनाए। बलिङतर्फ चितवनका सोहेल तनभिरले ४ विकेट लिए ।
यसपछि दिएको १४३ रनको लक्ष्य पछ्याएको चितवनले १७ ओभर २ बलमा सबै विकेट गुमाएर केवल ८९ रन मात्र बनायो। चितवनका देव खनाल र रवि बोपाराले समान २१ रन बनाए। काठमान्डुका राशिद खानले ३ विकेट लिए ।
यो जीतसँगै काठमान्डु ५ खेलमा ६ अंकसहित तालिकाको तेस्रो स्थानमा उक्लिएको छ। चितवन ४ खेलमा ४ अंकसहित चौथो स्थानमा छ ।
एनपीएलको अर्को खेल आज दिउँसो ४ बजे हुँदैछ, जहाँ दोस्रो स्थानको विराटनगर किङ्स र पाँचौं स्थानको कर्णाली याक्स भिड्ने छन् । विराटनगरले चार खेलमा ६ अंक र कर्णालीले तीन खेलमा २ अंक जोडिसकेको छ।
एनपीएलमा आठ फ्रेन्चाइज टोली सहभागी छन्। दोस्रो संस्करणको प्रतियोगिता मङ्सिर १ गतेदेखि सुरु भएर आउँदो २७ गतेसम्म चल्नेछ ।











