वीरगंज, १२ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टीले मधेश प्रदेशमा पनि प्रतिनिधिसभा सदस्य समानुपातिक उम्मेदवारीको लागि सार्वजनिक रूपमा आह्वान गरेको छ ।
शुक्रवार पर्साको वीरगंजमा रास्वपा पर्सा जिल्ला कार्यसमितिले पत्रकार सम्मेलनको आयोजना गर्दै उम्मेदवारीको लागि आह्वान गरेको हो ।
राष्ट्रिय स्वतन्त्र पार्टी पर्साका अध्यक्ष हरि पन्तले रास्वपाको समानुपातिक छनोट प्रक्रिया अरू पुराना दलभन्दा बिलकुल फरक र पूर्ण रूपमा वैज्ञानिक र पारदर्शी हुने बताए । उनले रास्वपाले सम्पूर्ण देश, मधेश र पर्सा जिल्लामा छरिएर रहेका क्षमतावान, योग्य, विभिन्न क्षेत्रमा विज्ञता हासिल गरेकाहरूलाई समानुपातिक कोटाबाट सांसदसम्म पुर्याउने बताए ।
सभापति पन्तले पुराना दलहरूले समानुपातिक निर्वाचन प्रणालीको मर्मविपरीत आफन्त र आफ्ना नजिकका कार्यकर्ताहरूलाई समानुपातिकमा पठाउने गरेकोले रास्वपाले त्यसलाई पुर्णरूपमा चिर्दै पारदर्शी रूपमा छनौट गर्न लागेको बताए ।
देशको लागि केही गर्न अठोट बोकेका तर पुराना राजनीतिक दल अनि तिनीहरूको पार्टीगत संरचना अन्तर्गत प्रतिनिधिसभासम्म पुग्न नसकेकाहरूको निमित्त रास्वपाले यो मौका दिन लागेको पनि उनले बताए । सभापति पन्तले रास्वपाले समानुपातिक निर्वाचनको उम्मेदवार छनोट प्रक्रिया पूर्णरूपमा निष्पक्ष र पारदर्शी हुने पनि बताए ।
पर्सा जिल्ला सभापति पन्तको अध्यक्षतामा सम्पन्न पत्रकार भेटघाट कार्यक्रमको सहजीकरण रास्वपा मधेस प्रदेशका प्रचार विभाग प्रमुख राम सरार्फले गरेका थिए ।
Facebook Comments Box











