बिरगंजमा लघुवित्त शोषणविरुद्ध प्रदर्शन

पर्सा , मंसिर — १४

लघुवित्त तथा विभिन्न वित्तीय संस्थाबाट हुने अत्यधिक ब्याजदर, अवैध असुल–उसुली र ऋण चक्रब्याजजस्ता शोषणकारी गतिविधिविरुद्ध आइतबार बिरगंजमा विरोध प्रदर्शन गरिएको छ।

लघुवित्त तथा वित्तीय शोषणविरुद्ध संघर्ष समिति, पर्साको अगुवाइमा भएको प्रदर्शनपछि प्रतिनिधिमण्डलले नेपाल राष्ट्र बैंक बिरगंज शाखाका प्रमुख सुशील पौडेललाई ज्ञापन पत्र बुझाएका छन । ज्ञापनमा उच्च ब्याज, दोहोरो–तेहोरो असुली, धम्की, किश्ताको नाममा हुने मानसिक–सामाजिक यातना तत्काल रोक्न माग गरिएको छ।

पर्सा, बारा, रौतहटलगायत क्षेत्रबाट आएका प्रदर्शनकारीले घर–घर गएर असुली, ठगीजस्ता अवैध गतिविधिले अत्यधिक दवाब परेको बताएका थिए।

ज्ञापन बुझेपछि राष्ट्र बैंकका प्रमुख पौडेलले उजुरीका आधारमा आवश्यक छानबिन र कानुनी प्रक्रिया अघि बढाइने आश्वासन दिए।

संघर्ष समितिका अध्यक्ष शिवप्रसाद साह तेलीले लघुवित्तको नाममा शोषण तीव्र भएको आरोप लगाउँदै, “न्याय नपाएसम्म आन्दोलन जारी रहन्छ,” भने।

सम्बन्धित पोस्टहरुः