वीरगंज , मंसिर – १५
मधेश प्रदेशमा आइतबार राति भएका दुई छुट्टाछुट्टै सवारी दुर्घटनामा दुई जनाको मृत्यु भएको छ । सिराहा र सप्तरीमा भएको दुई दुर्घटनामा एक–एक जनाले ज्यान गुमाएका हुन् ।
सिराहा– विष्णुपुर गाउँपालिका–१ हरिनगरास्थित सडकमा मोटरसाइकल म.प्र.०१–००४ प ७८४८ र साइकल एकआपसमा ठोक्किँदा ७० वर्षीय साइकल चालक सत्यनारायण ठाकुरको मृत्यु भएको प्रहरीले जनाएको छ । गम्भीर घाइते ठाकुरको प्रादेशिक अस्पताल सिराहामा उपचारका क्रममा निधन भएको हो । मोटरसाइकलमा सवार एक जना घाइते छन् भने चालक प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी सप्तरी– खडक नगरपालिका–११ बनौलीस्थित सडकमा मोटरसाइकल प्र २–०१–००१ प १७०८ को ठक्करबाट ४२ वर्षीय दिप्रेन्द्र पासवानको मृत्यु भएको छ । गम्भीर घाइते पासवानको छिन्नमस्ता अस्पताल राजविराजमा उपचारका क्रममा निधन भएको हो । मोटरसाइकल चालक पनि घाइते अवस्थामा अस्पतालमै उपचाररत छन् । दुवै दुर्घटनाबारे प्रहरीले थप अनुसन्धान जारी राखेको छ।









