वीरगंज , मंसिर – १५
पर्सागढी नगरपालिका र वीरगन्ज महानगरपालिकाले विगत केही वर्षमा आन्तरिक तर्फको आय लक्षअनुसार संकलन गर्न सकेका छैनन् । पर्सागढी नगरपालिकाले आर्थिक वर्ष २०८१/८२ मा तीन करोड २६ लाख ६० हजार रुपैयाँको लक्ष्य राख्दा केवल एक करोड तीन लाख रुपैयाँ मात्रै सङ्कलन गर्न सफल भएको छ। यसअघि पनि आन्तरिक आय लक्षभन्दा निकै कम संकलित भएको देखिएको छ ।
वीरगन्ज महानगरले गत आव ८१/८२ मा ८१ करोडको लक्ष्य राख्दा ६२ करोड ९३ लाख मात्रै आय उठाएको थियो। मेयर राजेशमान सिंहका अनुसार, घर र उद्योगहरूको नक्शापास नहुँदा र कर तिर्न जनता सक्रिय नभएको कारण आय वृद्धि हुन सकिरहेको छैन ।
विशेषज्ञहरूका अनुसार स्थानीय तहको आन्तरिक आय बढाउन कर प्रणाली प्रभावकारी बनाउन, अनावश्यक कर छुट र चुहावट रोक्न तथा स्थानीय स्रोतको पहिचान गरी योजना निर्माण गर्न आवश्यक छ। संघीयता तथा स्थानीय शासनविद् डा. खिमलाल देवकोटाले प्रविधिमैत्री कर प्रणाली विकास र आन्तरिक आय वृद्धि गर्ने पालिकालाई अनुदान प्रवर्द्धन गर्नुपर्ने सुझाव दिएका छन् ।









