एजेन्सी , मंसिर – १६
पाकिस्तानका पूर्वप्रधानमन्त्री इमरान खान जेलभित्रै ज्यान गएको हल्ला फैलिँदै जाँदा इस्लामावाद–रावलपिण्डी क्षेत्रमा तनाव चर्किएको छ।
खानका छोराहरूले उनलाई जेलभित्र कुटपिट भएको दाबी गर्दै भेट्न अनुमति माग्दै आएका छन्। तर सेना पक्षले हप्तौँयता भेटघाट रोकेपछि “जेलमै मृत्यु भएको” भनाइ सामाजिक सञ्जालमा फैलिएको हो। अफगानिस्तान टाइम्स नामको एक्स ह्यान्डलबाट सुरु भएको यो दाबी भने स्वतंत्र रूपमा पुष्टि भएको छैन।
यसैबीच, आजका लागि खानको पार्टी पाकिस्तान तहरीक–ए–इन्साफ (पीटीआई) ले गरेको प्रदर्शन आह्वानसँगै प्रशासनले इस्लामावाद र रावलपिण्डीमा भोलिसम्मका लागि धारा १४४ लागू गरेको छ। धारा १४४ लागू भएपछि पाँच जनाभन्दा बढी भेला हुने, सभा वा विरोध प्रदर्शन गर्न निषेध हुन्छ।
खानलाई भेट्न गरिएको आठौँ प्रयास पनि गत हप्ता असफल भएपछि खैबर पख्तुनख्वाका मुख्यमन्त्री सोहेल अफ्रिदीले जेल बाहिर धर्ना दिएका थिए। उनीसँग सुरक्षा निकायले कडा व्यवहार गरेको आरोप छ।
खानकी पूर्वपत्नी जेमिमा गोल्डस्मिथले समेत अन्तर्राष्ट्रिय समुदाय “असामान्य मौन” बसेको आरोप लगाउँदै खानको अवस्थाबारे पारदर्शिता मागेकी छन्।
विभिन्न भ्रष्टाचार मुद्दामा दोषी ठहर भएका ७२ वर्षीय इमरान खान सन् २०२३ देखि जेलमा छन्।









