मधेशका मुख्यमन्त्री यादव आज दिउँसो २ बजे विश्वासको मत लिन तय

मधेश , मंसिर – १७

मधेश प्रदेशका मुख्यमन्त्री सरोजकुमार यादवले आज दिउँसो २ बजे विश्वासको मत लिने भएका छन ।

प्रदेशसभा सचिवालयले बिहान साढे ८ बजे बैठक तोकेको भए पनि मुख्यमन्त्री यादव र एमाले सांसदहरू उपस्थित नभएपछि बैठक उपसभामुख बबिताकुमारी राउत ईशरले स्थगित गरी दिउँसो २ बजेका लागि सारिएको हो।

मुख्यमन्त्री यादवले हिजो पत्रकार सम्मेलनमार्फत आफूले सर्वोच्च अदालतको परमादेश दिउँसो ३ बजे मात्र प्राप्त गरेको उल्लेख गर्दै त्यसैको आधारमा विश्वासको मतका लागि सचिवालयलाई पत्र पठाएको जानकारी दिएका थिए । सर्वोच्च अदालतले सोमबार २४ घण्टाभित्र विश्वासको मत लिन परमादेश जारी गरेको थियो।

यादव नेकपा (एमाले) संसदीय दलका नेताका रूपमा मुख्यमन्त्री नियुक्त भएका हुन । अन्य दलहरूले बहुमतको दाबी गरे पनि तत्कालीन प्रदेश प्रमुख सुमित्रा भण्डारीले यादवलाई नियुक्त गरेपछि विवाद चुलिएको थियो। सो विवादकै कारण प्रदेश प्रमुख भण्डारीलाई संघीय सरकारको सिफारिसमा पदमुक्त गरिएको थियो।

मुख्यमन्त्री नियुक्तिविरुद्ध ७४ सांसदले सर्वोच्चमा रिट दायर गरेका थिए। सर्वोच्चले यसअघि नै दीर्घकालीन असर पर्ने निर्णय नगर्न अन्तरिम आदेश दिएको थियो । आजको विश्वासमतबाट मधेशमा सरकारको भविष्य निर्धारण हुने देखिएको छ।

सम्बन्धित पोस्टहरुः