– राधेश्याम पटेल
नेपाली उत्पादन बिक्री वितरण र रोजगारको दृष्टिकोणले समेत भारत मुख्य बजार हो । हिजो पनि थियो, आज पनि छ र भोलि पनि नेपालको छिमेकी राष्ट्र भारत नै व्यापार, पर्यटन, रोजगारलगायतको दृष्टिकोणले मुख्य बजार भएको नेपाली महावाणिज्य दूतावास कोलकाताका अधिकारीहरूले बताएका छन् ।
कोलकाताका लागि नेपाली महावाणिज्यदूत झक्कप्रसाद आचार्यका अनुसार अहिले दैनिक सयौं मानिस रोजगार खोज्दै खाडी मुलुक गइरहेका छन् तर भारतको पश्चिम बङ्गालको कोलकाता आउन चाहँदैनन् ।
“पश्चिम बङ्गाल नेपालभन्दा कम क्षेत्रफलमा फैलिएको राज्य हो, मात्र ८७ हजार वर्गकिलोमिटरमा फैलिएको छ, तर जनसङ्ख्या भने करीब साढे नौ करोड छ,” उनले भने, “नेपाल एक लाख ४७ हजार वर्गकिलोमिटर क्षेत्रफलमा फैलिएको छ, तर जनसङ्ख्या भने करीब तीन करोड छ, जहाँ जनसङ्ख्या बढी हुन्छ, त्यहाँ कृषि उत्पादन वा अन्य सामानको खपत बढी हुनु स्वाभाविक हो ।” उनले भारतका विभिन्न राज्यमा रोजगारको प्रचुर सम्भावना रहेको बताए ।
भारतका राज्यहरू नेपालदेखि नजीक पर्छन् । खुला सिमानाको कारण आउजाउ गर्न सहज छ, भिसा लाग्दैन, रोजगारको सिलसिलामा कुनै समस्या आइलाग्यो भने सहयोग आदानप्रदान गर्न सहज हुने उनले बताए । “रोजगार गर्न खाडी जानुभन्दा भारत जानु सजिलो छ, खाडीमा रोजगार गर्न त्यति सहज हँुदैन,” उनले भने, “खाडीमा गएर नेपालीहरू ठूला भौतिक पूर्वाधार हेरेर रमाउँछन्, तर कोलकातामा राम्रो अवसर छ, तर बोलाउँदा पनि युवा आउन चाहँदैनन्, तर समस्यामा परेपछि पछुताउँछन् ।”
रोजगार वा नेपाल उत्पादित सामान बिक्री वितरणको लागि पनि भारतका विभिन्न राज्य मुख्य बजार हुन सक्नेमा उनी ढुक्क छन् । तर नेपाली युवाहरू त्यसबारेमा गम्भीर नभएको उनले बताए ।
नेपालको हावापानी, भौगोलिक बनोटलगायत पर्यटनको प्रचुर सम्भावना छ, त्यो विश्वका अन्य देशमा विरलै छ । भारतीय पर्यटकहरूलाई नेपाल बोलाएर जति लाभ लिनुपर्ने हो, त्यति लिन नसकेको समेत उनको कथन छ । “पश्चिम बङ्गालका अधिकांश परिवार वर्षमा एकपटक सपरिवार नेपाल भ्रमणमा जान चाहन्छन्, पशुपतिनाथको दर्शन, पोखरा घुमफिर, जानकी मन्दिर दर्शन, मुक्तिनाथ दर्शनलगायत गन्तव्य यिनीहरूको प्राथमिकतामा रहेको छ,” उनले भने, “तर सही परामर्शको अभावमा उनीहरू जान सकिरहेका छैनन्, केही मात्रै जान्छन् ।”
कोलकाताका लागि नेपाली महावाणिज्यदूत आचार्यले पर्यटन व्यवसायी कोलकातामा आएर विभिन्न कार्यक्रममार्फत सक्रियता देखाउनुपर्नेमा खासै रुचि नदेखाउँदा भारतीय पर्यटक सही परामर्शको अभावमा लक्षित सङ्ख्यामा नेपाल जान नसकेको उनको बुझाइ छ । यदि सही परामर्श दिने हो र नेपाल भ्रमणको क्रममा नेपाली टुरिस्ट गाइड वा ट्राभल एजेन्सीहरूले सहकार्य गर्ने हो भने नेपालको पर्यटन क्षेत्रले धेरै फाइदा लिन सक्ने उनले बताए ।
त्यसैगरी, नेपाली चिया, आलु, सागपात, फलफूल, अलैंची, अदुवालगायत स्वदेशी उत्पादन बढी मात्रामा गरेर भारतका विभिन्न राज्यमा बिक्री वितरण गर्न सकिने उनले बताए । नेपाली थकाली खाना, मःमः, चाउमिनलगायतका खाजा व्यापार पनि भारतका विभिन्न राज्यमा सहजै रुचाइने व्यवसाय बन्दै गएको उनले बताए ।
भारतका उत्तरी–पूर्वी राज्यहरूमा नेपाली युवाहरूले नै यस्तै केही उदाहरणीय पसल व्यवसाय सञ्चालन गरेर नाम कमाइ रहेकासमेत उनले चर्चा गरे । नेपालको पशुपतिनाथको मन्दिरको प्रतिमा ५० हजार भारुमा कोलकातामा बिक्री वितरण भएकोसमेत उनले बताए ।








