वीरगंज । जिल्ला प्रशासन कार्यालय पर्साका प्रमुख जिल्ला अधिकारी सिडियो भोला दहालले शिक्षा व्यक्तित्व विकास र भविष्यको निर्माणको आधार भएको बताएका छन् ।
बिपिएस प्लसं२ कलेज रानीघाटको आयोजनामा शुक्रवार होटल भिस्वामा वेलकम कार्यक्रममा बोल्दै प्रजिअ दहालले जीवनमा प्राप्त ज्ञान र अनुशासनले नै सफलताको मार्ग तय गर्ने बताए । युवापुस्ताले सकारात्मक सोच, लगनशीलता र जिम्मेवारीसहित अघि बढ्न सके समाज तथा राष्ट्र विकासमा महत्वपूर्ण योगदान दिन सकिने उनको भनाइ छ । उनले कलेज प्रशासनलाई यस्ता शैक्षिक तथा प्रेरणादायी कार्यक्रम निरन्तर गर्नुका साथै विद्यार्थीहरूलाई सिर्जनशील र उत्तरदायी नागरिकका रूपमा विकसित गर्न आग्रह गरे ।
कलेजका निर्देशक दिपक पटेलको अध्यक्षतामा सम्पन्न कार्यक्रममा सरोज चौरसिया, देवेश प्रसाद गुप्ता, एसके चौरसिया, अभिलाष गुप्ता, राकेश साह, आरोहन साह, प्रहलाद चौरसिया, कन्हैया पटेल लगायतको सहभागिता थियो । कार्यक्रममा विद्यार्थीहरूले गीत, संगीत, नृत्य, नाटकलगायत विविध सांस्कृतिक प्रस्तुति दिएका थिए।








