वीरगंज , मंसिर – २०
गणतान्त्रिक नेपालका प्रथम राष्ट्रपति डा.रामवरण यादवले पवित्र सेवाको रुपमा चिनिने चिकित्सा (डाक्टरी) पेशा ठगी धन्दाको रुपमा विकसित हुदैँ गएको बताएका छन् । वीरगंज पावरहाउस नजिकै सञ्चालित दृष्टि आँखा अस्पताल तथा नाक,कान,घाँटी अस्पतालको नवनिर्मित भवन समुदाघटन एवं ११ औं वार्षिकोत्सवको अवसरमा आयोजित समारोहमा प्रमुख अतिथिको रुपमा बोल्दै प्रथम राष्ट्रपति यादवले यस्तो बताएका हुन् ।
‘हामीले चिकित्सा पेशालाई पवित्र सेवा धर्मको जिम्मेवारीको रुपमा लिएका थियौंं,आफुले सक्ने वा नसकेपछि अरु चिकित्स कहाँ रोगीलाई पठाउनु पर्छ,रोगी र रोगीका कुरुवासंग सम्मानपुर्वक व्यवहार,दाया,माया देखाउनुपर्छ,’उनले भने,‘तर अहिले यो व्यवसायलाई धेरै डाक्टरहरुले पैसा कमाउने व्यवसायको रुपमा बनाएका छन्,जुनकी सही होइन् ।’
यो अस्पतालको उद्घाटन गर्न आउनु भन्दा पहिले आफु स्वयंम अस्पतालमा पुगेर सबै कुराको बारेमा जानकारी लिएर मात्र कार्यक्रमा आएको चर्चा गर्दै सुविधा सम्पन्न अस्पतालमा धेरै पैसा लाग्छ,धेरै जना शेयधनी हुन्छन्,तिनीहरुको उदेश्य नाफा कमाउने हुन्छ,त्यसैले विरामीलाई ठगेर बनाइएको अस्पतालको उद्घाटनमा आफु नजानेको समेत बताउँदै यहाँको हकमा कन्भिन्स भएर आएको स्पष्ट पारे ।
साथै,वीरगंजमा दृष्टि र केडिया आँखा अस्पताल आँखा उपचारको क्षेत्रमा स्तरीय सेवा दिने अस्पताल भएको चर्चा ख्याती कमाउदै गएको बताए । उनले वीरगंजको मात्रै नभई सिरहा,झापालगायत नेपाल–भारत सीमा क्षेत्रमा सञ्चालित विभिन्न आँखा अस्पताल वा उपचारकेन्द्रले उत्तरी भारतको बिहार,यूपि र पश्चिम बंगाललगायत राज्यबाट वर्षेनी लाखौं विरामी अस्पताल आइरहेको सर्वविदितै रहेको बताए । त्यसैले नेपालको आँखा उपचार दक्षिण एशियामा समेत नाम कमाएको र गुणस्तरीय सेवा दिइराख्दा नेपालले आँखा उपचारबाट फाइदा लिन सकिरहेको उनले जानकारी गराए ।
सोही अवसरमा आँखा रोग विशेषज्ञ द्वय राधाकृष्ण कोइराला र डा.वीरसिंह थापालाई कदरपत्रसहित अस्पतालले सम्मान गरेको छ । आँखा उपचारको क्षेत्रमा अनवरत र अतुल्नीय योगदिन दिएको भन्दै अस्पताल व्यवस्थापन पक्षले उनीहरुलाई सम्मान गरेको हो । अस्पताल सञ्चालक समितिका अध्यक्ष डा.विश्वराज गौत्तमको सभापतित्व र वषन्त पौडेलको सहजीकरणमा सम्पन्न भएको कार्यक्रममा अस्पतालका कार्यकारी निर्देशक डा.भाईराजा श्रेष्ठ,मेडिकल निर्देशक डा. हरिशर्मा,नेपाल औषधि व्यवसायी महासंघ नेपालका अध्यक्ष प्रकाश खण्डेलवाल,नेपाल चिकित्सक संघ नारायणी शाखा वीरगंजका अध्यक्ष डा. मनोज गुप्तालगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए । २०७१ मंसिर ३ गतेदेखि वीरगंजमा स्थापना भएको दृष्टि आँखा अस्पताल शुरुमा भाडाको घरमा एक चिकित्सक र १२ जना स्टाफबाट शुभाम्भ भएको थियो । २०७० सालबाट दृष्टि आईकेयर सिस्टमबाट झापाबाट वीरगंज हुदै काठमाडौंमा समेत दृष्टि आँखा अस्पताल सञ्चालनमा रहेको जनाइएको छ । हाल सम्म १३ लाख विरामीलाई सेवा दिइसकेको छ भने १ लाखभन्दा बढि सबै अस्पताल मिलेर शल्यक्रिया गरिसकेको जनाएको छ । अगामि ५ वर्षमा वर्षेनी ५ लाख आँखा रोगी र ५० हजारभन्दा बढि नाक,कान,घाँटीको रोगीलाई सेवा दिइने लक्ष्यका साथ अघि बढिएको बतइएको छ । कार्यक्रमको अन्त्यमा कर्मचारीहरुलाई प्रशंसापत्र प्रदान समेत गरिएको थियो । हाल अस्पतालले देशभरमा ३ सय जनालाई रोजगारी प्रदान गरेको छ ।









