सशस्त्र प्रहरी पर्साले बरामद गरेको अवैध सामान भन्सार कार्यलयमा दाखिला 

वीरगंंज, मंसिर – २०

पछिल्ला केही दिनयता पर्साका विभिन्न नाकामा सशस्त्र प्रहरी बलको निगरानी थप कडा बनेको छ। यही कडाइका बीच सशस्त्र प्रहरी बल, नेपाल नं. १३ गण पर्साले भारतबाट भन्सार छली ल्याइँदै गरिएका करिब ४० लाख रुपैयाँ बराबरका सवारीसाधन तथा सामग्री नियन्त्रणमा लिएर भन्सारमा बुझाएको छ।

बिहिवार सीमा सुरक्षा गुल्म अलौबाट खटिएको टोलीले बीरगंज महानगरपालिका–२१ परवानीपुर नजिकै मधेश प्रदेश ०३–००१ च ८४९२ नम्बरको टाटा योधा शंका लागेर जाँच गरेको थियो। जाँच गर्दा गाडीमा २ वटा लैनो भैंसी लोड गरी जितपुरतर्फ लैजाँदै गरिएकोमा नियन्त्रणमा लिएको थियो ।
भैंसीको मूल्य रु १.४० लाख र गाडीको मूल्य रु २२ लाख निर्धारण गरीएको सशस्त्र प्रहरीले जनाएको छ।

त्यसै दिन सीमा सुरक्षा गुल्म भिखमपुरबाट खटिएको अर्को टोलीले जगरनाथपुर–२ मा रोकिएका २ वटा इ–लोडर जाँच गर्दा भन्सार छली ल्याइएका १० वटा नयाँ ब्याट्री बरामद गरेको हो । ब्याट्रीको मूल्य रु २ लाख तथा इ–लोडरको मूल्य रु ६ लाख रहेको सशस्त्र प्रहरी पर्साले उल्लेख गरेको छ।

यसबीच, गणअन्तर्गतका विभिन्न टोलीहरूले वीरगंजका विविध स्थानबाट रु ६ लाख ६८ हजार ३ सय बराबरका कपडा, भाँडा, इलेक्ट्रोनिक्सलगायत सामान नियन्त्रणमा लिईएको समेत जनाएको छ ।

शुक्रवार ड्राइपोर्ट सशस्त्र प्रहरी चौकीबाट खटिएको टोलीले बीरगंज–२५ बहुअरीमा मोटरसाइकलमार्फत ल्याइँदै गरिएको १ लाख ३१ हजारको नियन्त्रणमा लिएको छ ।

यसैगरी त्यहिदिन बीरगंज सशस्त्र प्रहरी चौकीबाट खटिएको अर्को टोलीले बीरगंज–१६ रेल्वेरोड क्षेत्रमा रु ४९ हजार ३ सय बराबरका जुत्ता–चप्पल र कपडा बरामद गरेको हो।

आज शनिबार पनि सीमा सुरक्षा गुल्म भिखमपुर मातहत रहेको आश्वारी सशस्त्र प्रहरी चौकीबाट गस्तीमा गएको टोलीले मोटरसाइकलमा राखेर भन्सार छली ल्याइँदै गरिएको २० हजारको २० रोल नेटको तार बरामद गरेको छ।

सशस्त्र प्रहरी नायब उपरीक्षक तथा सूचना अधिकारी विश्वराज योन्जनका अनुसार बरामद सबै सामग्री र सवारीसाधन आवश्यक कानुनी प्रक्रिया पूरा गर्न बीरगंज भन्सार कार्यालयमा बुझाइएका छन् ।

सम्बन्धित पोस्टहरुः