जसपाको ३५ बुँदे मागसहित पर्सामा धर्ना, निर्वाचन क्षेत्र पुन : निर्धारणमा जोड

वीरगंज , मंसिर – २२

पर्सामा जनता समाजवादी पार्टी नेपालले समान जनसङ्ख्याका आधारमा संसदीय र प्रादेशिक निर्वाचन क्षेत्र पुनःनिर्धारण गर्नुपर्ने मागसहित आइतबार जिल्ला प्रशासन कार्यालय अगाडि बिहान ११ बजेदेखि दिउँसो ३ बजेसम्म धर्ना दिएको छ।

जसपा पर्साका अध्यक्ष रामनरेश यादवका अनुसार धर्नामा संविधान संशोधन, निर्वाचन प्रणालीको पुनरावलोकन र राज्य पुनःसंरचना उच्चस्तरीय आयोग–२०६८ को प्रतिवेदनअनुसार १०+१ संरचना लागू गर्नुपर्ने प्रमुख माग रहेका छन ।

उनले हिमाली क्षेत्रको न्यायोचित प्रतिनिधित्व र समान जनसङ्ख्यामा आधारित निर्वाचन क्षेत्र कायम नगर्दा प्रतिनिधित्व असन्तुलित भएको आरोप लगाए।

यस्तै, दलित र महिलाका लागि छुट्टै आरक्षित क्षेत्र, पूर्ण समानुपातिक निर्वाचन प्रणाली, प्रत्यक्ष निर्वाचित कार्यकारी राष्ट्रपति प्रणाली, तथा संसदमा समावेशी प्रतिनिधित्व सुनिश्चित गर्ने व्यवस्था गर्नुपर्ने उनीहरुको माग छ।

जेनजी आन्दोलनका न्यायोचित मुद्दा सम्बोधन, आन्दोलनको क्रममा भएको दमन र हिंसाको छानबिन, अल्पसङ्ख्यक समुदायका लागि स्वायत्त तथा संरक्षित क्षेत्र, सुशासन र भ्रष्टाचार नियन्त्रण, शिक्षामा व्यावसायीकरण अन्त्य, कृषि व्यवसायीकरण, युवा रोजगारी, बेरोजगारी भत्ता र रासन कार्ड व्यवस्थापनजस्ता माग पनि ३५ बुँदामार्फत अघि सारिएको पार्टीले जनाएको छ।

धर्नामा मधेस प्रदेशका पूर्वमुख्यमन्त्री मोहम्मद लालबाबु राउत, शशीकपूर मियाँ, करिमा बेगम, घनश्याम गुप्तासहित स्थानीय नेताहरूको उपस्थित रहेको जसपा नेपाल पर्साले जानकारी दिएको छ।

सम्बन्धित पोस्टहरुः