सरकारद्वारा उखुको न्यूनतम समर्थन मूल्य निर्धारण

वीरगंज , मंसिर – २३

सरकारले उखुको न्यूनतम समर्थन मूल्य (एमएसपी) प्रतिक्विन्टल ६ सय २० रुपैयाँ निर्धारण गरेको छ। यसअघि ५ सय ८५ रुपैयाँ रहेको मूल्यमा ३५ रुपैयाँको वृद्धि गरिएको हो ।

सरकारका प्रवक्ता तथा सञ्चारमन्त्री जगदीश खरेलका अनुसार मन्त्रिपरिषद्को निर्णयअनुसार उखु किसानलाई दिँदै आएको प्रतिक्विन्टल ७० रुपैयाँ अनुदान पहिलेकै अवस्थामा निरन्तरता दिने निर्णय गरिएको छ ।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले गरेको लागत संरचना अध्ययनअनुसार प्रतिक्विन्टल उत्पादन लागत ४३७ रुपैयाँ, ढुवानी लागत ८१ रुपैयाँ, र किसानको नाफा १०२ रुपैयाँ गणना गरी एमएसपी ६२० रुपैयाँ निर्धारण गर्न मंसिर १७ गते मन्त्रिपरिषद्मा सिफारिस गरिएको थियो ।

गत वर्ष सरकारले स्रोत अभाव देखाउँदै किसानलाई दिँदै आएको ७० रुपैयाँ अनुदानमध्ये ३५ रुपैयाँ कटौती गरेको थियो । सो निर्णयप्रति किसानहरूले विरोध जनाउँदै पुरानै अनुदान पुनः लागू गर्न माग गर्दै आएका थिए ।

यसपटक सरकारले किसानको माग सम्बोधन गर्दै ७० रुपैयाँ अनुदानलाई पूर्ण रूपमा निरन्तरता दिएको हो । सरकारले दिने अनुदान रकम सीधै किसानको बैंक खातामा जमा गरिने व्यवस्था यथावत रहने जनाएको छ ।

सम्बन्धित पोस्टहरुः