नयाँ ऐनविरुद्ध एजेन्टले पेन डाउन गर्दा देशभर भन्सार सेवा प्रभावित

वीरगंज , मंसिर – २३

नयाँ भन्सार ऐन २०८२ का विवादित प्रावधानविरुद्ध भन्सार एजेन्टहरूले आजदेखि देशभर पेन डाउन गरेपछि भन्सार कार्यालयहरूमा दैनिक कामकाज ठप्पजस्तै बनेको छ। जाँच–पासदेखि आयात–निर्यातका नियमित प्रक्रिया समेत प्रभावित भएका छन्।

भन्सार एजेन्ट महासंघका अनुसार नयाँ ऐनले एजेन्टलाईअनावश्यक दण्ड–जरिवानाको जोखिममा पारेको छ। महासंघको भनाइमा “एजेन्ट इजाजतपत्र प्राप्त व्यक्तिमाथि नै अपराधीको व्यवहार गर्नेजस्तो कडा दण्ड प्रावधान” राखिँदा पेशागत सुरक्षा र व्यापारिक वातावरण दुवैमा प्रतिकूल असर पर्ने खतरा बढेको छ। यही असन्तुष्टिका कारण एजेन्टहरूले सामूहिक रूपमा पेन डाउन गर्ने निर्णय लिएका हुन्।

पेन डाउनका कारण भन्सारमा निर्भर साना–ठूला व्यापारिक गतिविधि प्रभावित भइरहेका छन्। सीमावर्ती भन्सार नाकादेखि आन्तरिक भन्सार कार्यालयसम्म कतारमा बसेका सेवा उपभोक्तालाई प्रसस्त गुनासो छ। आयात–निर्यातमा ढिलाइ बढेपछि व्यापारीहरू समेत चिन्तित बनेका छन्।

यता, भन्सार विभागले भने समस्या समाधानका लागि संवाद सुरु भएको जनाएको छ। विभागका महानिर्देशक श्यामप्रसाद भण्डारीका अनुसार, “एजेन्ट महासंघको माग सुन्न र आवश्यक समाधान खोज्न छलफलका लागि बोलाइएको छ।” विभागले पेन डाउनका कारण उत्पन्न समस्यालाई चाँडै समाधान गर्ने अपेक्षा व्यक्त गरेको छ।

अब, विभाग र महासंघबीच हुने छलफलमै भन्सार सेवा कति छिटो सामान्य अवस्थामा फर्कन्छ भन्ने निर्भर रहनेछ। महासंघले माग सम्बोधन नभएसम्म पेन डाउन जारी रहने चेतावनी दिएको छ।

सम्बन्धित पोस्टहरुः