वीरगंज , मंसिर – २३
नेकपा (एमाले)को ११ औँ राष्ट्रिय महाधिवेशनका लागि प्रतिनिधि अद्यावधिक प्रक्रिया अन्तिम चरणमा पुगेको छ। पार्टी केन्द्रीय कार्यालयमा संगठन विभाग प्रमुख काशीनाथ अधिकारी र सचिव माधव ढुंगेल नेतृत्वको टिमले विगत केही दिनदेखि प्रतिनिधि विवरणको सूक्ष्म जाँच–बुझ जारी राखेको छ।
संगठन विभागका अनुसार करिब ७० प्रतिशत प्रतिनिधिको भेरिफिकेसन सकिएको छ। महाधिवेशनमा २ हजार १ सय ५४ प्रतिनिधि मतदानमार्फत आउनेछन्, साथै १ सय ८ जना केन्द्रबाट मनोनित हुने भएकाले प्रतिनिधिको कुल संख्या २ हजार २ सय ६२ पुग्नेछ।
यसैबीच, पूर्व नेकपा (एस)को ‘घरफर्क अभियान’मार्फत फर्किएका तीन व्यक्तिले प्रतिनिधि बन्ने उद्देश्यसहित दिएको निवेदनको टुंगो पार्टी सचिवालयले लगाउने भएको छ। प्रतिनिधि छनोटका क्रममा देखिएका विवाद क्रमशः समाधान हुँदै गएको संगठन विभागले जनाएको छ।
धनकुटा र ओखलढुंगामा अन्तरपार्टी निर्देशन १३ विपरीत गरिएको प्रतिनिधि चयन केन्द्रले रद्द गरिसकेको छ। ती जिल्ला¬हरूमा पुनः मापदण्डअनुसार सर्वसम्मत रूपमा प्रतिनिधि छनोट भइसकेको छ। तर अन्य तीन जिल्लाबाट परेका उजुरी भने अझै अध्ययन र निर्णय प्रक्रियामा छन्। अधिकारीका अनुसार मापदण्ड नपुगेका प्रतिनिधिलाई कार्ड नजारी गर्ने नीति कडाइका साथ लागू हुनेछ।
महाधिवेशनमा सल्लाहकार परिषद्का ३५१ सदस्य पनि सहभागी हुनेछन्। परिषद्मा ३७६ सदस्य भए पनि २५ जना प्रतिनिधिका रूपमा प्रवेश गर्ने भएकाले कुल उपस्थित संख्या २ हजार ६ सय १३ पुग्नेछ।
यता, प्रतिनिधि परिचयपत्र छपाइ पनि तीव्र गतिमा जारी छ। आवश्यक कार्डमध्ये ७० प्रतिशत छपाइ सकिएको र बाँकी कार्य मंसिर २५ भित्र पूरा गर्ने लक्ष्य राखिएको केन्द्रीय कार्यालयले जनाएको छ।









