फैजुल्लाह आलमलाई थप उपचारको लागि लगियो भरतपुर

राधेश्याम पटेल
वीरगंज, २४ मंसिर । बाराका अग्रज पत्रकार फैजुल्लाह आलमको अवस्था चिन्ताजनक भएपछि थप उपचारको लागि बुधवार बिहान भरतपुर लगिएको छ ।

परिवारजनले दिएको जानकारी अनुसार बिहान ६ बजे,उनको घर परवानीपुर गापा–३ लिपनीबाट एम्बुलेन्समार्फत भरतपुर लगिएको हो ।

उनका भाई करमुल्लाह मियाँका अनुसार आइतवार राति १० बजे शौचालय गएको बेला उनी अचानक लडेर बेहोस भएपछि उनलाई वीरगंजको गण्डक हेल्थकेयर हस्पिटलमा उपचारका लागि पुर्याइएको थियो ।

हेल्थकेयरमा तीन दिन आइसियुको भेन्टिलेटरमा राखेर उपचार भको थियो । परिवारजनको आपसी सल्लाहमा मंगलवार राति ७ बजे अवस्था सुधार नभएपछि घर ल्याइएकोमा बुधवार बिहानै थप उपचारको लागि भरतपुर लगिएको हो ।

५४ वर्षीय आलमको तीनवटा छोरीहरु मात्र रहेको र आर्थिक अवस्था कमजोर भएकोले परिवारजनले सहयोगको लागि पनि अपील गरेका छन् ।

चिकित्सकका अनुसार उनलाई १० वर्ष अगाडि पक्षघात भएर उपचार गराएका थिए भने अहिले ब्रेन हेमरेज (मष्तिष्कघात ) भएर उनी कोमामा पुगेका छन् । उनको उपचार जटिल प्रकृतिको उपचार हो, यस्तो बिरामीमा सुधार हुने सम्भावना कम हुन्छ ,तैपनि चिकित्सकले प्रयास गरिरहेको अस्पतालले जनाएकाे छ ।

सिकिस्त अवस्थामा उपचार भइरहेको फैजुल्लाह आलमको बारेमा सामाजिक सञ्जालमा अपुष्ट समाचार, सम्वेदना, श्रद्धाञ्जलि लगायतका सामग्री सार्वजनिक नगर्न परिवारजनले अपील गरेका छन् ।

आलम पत्रकार महासंघ, बाराका सदस्य हुन् भने प्रेस सेन्टर बारामा आबद्ध छन् ।

सम्बन्धित पोस्टहरुः