बैंकहरूको सहयोगमा वीरगंज महानगरलाई नौ थान कम्प्युटर प्राप्त

वीरगंज , मंसिर – २४

वीरगंज महानगरपालिकालाई शहरका विभिन्न बैंकहरूले नौ थान कम्प्युटर सहयोगस्वरूप उपलब्ध गराएका छन् । एक औपचारिक कार्यक्रममार्फत एभरेष्ट, लक्ष्मी सनराइज, सिद्धार्थ, कुमारी, ग्लोबल आइएमई, प्रभु, माछापुच्छ्रे, सिटिजन बैंक इन्टरनेशनल र प्राइम कमर्सियल बैंकले प्रत्येकी एक–एक थान कम्प्युटर महानगरलाई हस्तान्तरण गरे।

गत भदौ २३ र २४ मा ‘जेन्जी’ नामक आन्दोलनका क्रममा भएको लुटपाट, तोडफोड र आगजनीका कारण महानगरको भवन तथा कार्यालयका सामग्री पूर्ण रूपमा नष्ट भएपछि नगरका सेवाप्रवाह अत्यधिक प्रभावित बनेका थिए । त्यसपछि नियमित प्रशासनिक कामकाज सहज बनाउन महानगरका सद्भावना दूत अशोक वैद्यको समन्वयमा बैंकहरूले यो सहयोग गरेका हुन् ।

कार्यक्रममा बोल्दै वीरगंज महानगरका प्रमुख राजेशमान सिंहले बैंकहरूले विगतदेखि नै साथ दिएको स्मरण गर्दै संकटको घडीमा थप सहयोग पुर्यााएकोप्रति धन्यवाद व्यक्त गरे । उनका अनुसार, “महानगरको सम्पत्ति जल्नु भनेको नगरवासीकै सम्पत्ति नष्ट हुनु हो। यस्तो समयमा प्राप्त साथले फेरि उठ्ने हिम्मत र ऊर्जा दिएको छ ।”

बैंकर एशोसिएशन पर्साका संयोजक तथा लक्ष्मी बैंक वीरगंज शाखाका प्रमुख रोहिणी आचार्यले नगरवासीलाई सहज सेवा उपलब्ध गराउनु बैंकहरूको दायित्व रहेको उल्लेख गर्दै आवश्यक उपकरण महानगरलाई सहयोगपूर्वक उपलब्ध गराएको बताए ।

यसअघि सूर्य नेपाल, औषधि व्यवसायी संघ पर्सा, एनपीएल समाज कल्याण संस्था, ब्रिटानिया नेपाललगायत विभिन्न संघ–संस्थाले कम्प्युटर, ल्यापटप, प्रिन्टर तथा फर्निचर सामग्री सहयोग गरिसकेका छन् ।

सम्बन्धित पोस्टहरुः