वीरगंज , मंसिर – २४
नवलपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपाल बहुविवाहसम्बन्धी कसुरमा पक्राउ परेका छन्। नेपाललाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले सोमबार अदालतबाट पक्राउ पुर्जी लिएर नियन्त्रणमा लिएको हो ।
प्रहरीका अनुसार नेपालकी जेठी श्रीमती तारा खनाल नेपालले उजुरी दिएकी थिइन्। उजुरीका आधारमा जिल्ला अदालत रुपन्देहीले पक्राउ पुर्जी जारी गरेपछि डीएसपी नेपाल स्वयं प्रहरी कार्यालय उपस्थित भएका थिए। उनलाई नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान सुरु गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रमुख एसपी प्रदीपबहादुर क्षेत्रीले बताए ।
एसपी क्षेत्रीका अनुसार नेपालमाथि ३ दिनको प्रारम्भिक म्याद थप गरी अनुसन्धान भइरहेको छ । प्रारम्भिक तथ्यांकले नेपालले प्रहरीकै एक असईसँग दोस्रो विवाह गरेको आशंका रहेको स्रोतले जनाएको छ ।
डीएसपी नेपाल पहिले पनि विवादमा तानिइसकेका थिए। २०७४ सालमा बुटवलस्थित वडा प्रहरी कार्यालय रामनगरमा प्रहरी निरीक्षकका रूपमा कार्यरत रहँदा गाँजा कारोबारसम्बन्धी आर्थिक लेनदेनको विवादमा मुछिएपछि उनी निलम्बनमा परेका थिए। सो समयमा उनलाई बढुवाको सूचीबाट समेत हटाइएको थियो ।
प्रहरीले बहुविवाहसम्बन्धी आरोपमा आवश्यक प्रमाण संकलन र बयान प्रक्रिया अघि बढाइरहेको जनाएको छ ।








