वीरगंज , मंसिर – २५
प्रधानमन्त्री सुशीला कार्कीले जेनजी आन्दोलनसँग भएको नयाँ सम्झौतापत्र राजपत्रमा प्रकाशित हुने स्पष्ट गर्दै त्यसलाई ऐतिहासिक महत्वको दस्तावेजका रूपमा प्रस्तुत गरेकी छन् । बुधबार जेनजी प्रतिनिधिसँग औपचारिक सहमति हस्ताक्षरपछि उनले सम्झौताले भोलिका नीतिगत परिवर्तन र राज्य–आन्दोलनकारी सम्बन्धलाई पनि मार्गदर्शन गर्ने बताइन्।
प्रधानमन्त्री कार्कीका अनुसार यो सम्झौताले जेनजी आन्दोलनको पहिचानलाई आधिकारिक मान्यता दिलाउनेछ। ‘२३ र २४ भदौमा घटेका घटनाले हामीलाई दुःखी बनायो, तर त्यसले एउटा नयाँ आयाम पनि थप्यो,’ उनले भनिन्। ‘यो घटना अब ऐतिहासिक रेकर्ड बनिसक्यो। राजपत्रमा छापिँदैछ। माओवादी द्वन्द्वकालका सम्झौता वा राज्य–आन्दोलनकारीबीच भएका अन्य महत्वपूर्ण कागजात जस्तै यो पनि बलियो दस्तावेज बन्नेछ।’
सरकारले सम्झौतापत्र सार्वजनिक प्रक्रियालाई औपचारिकता दिँदै त्यसलाई दीर्घकालीन राजनीतिक तथा विधिक सन्दर्भका लागि आधारका रूपमा उपयोग गर्ने बताइएको छ।









