वीरगंज , मंसिर – २५
पूर्वप्रधानमन्त्री तथा एमाले अध्यक्ष केपी शर्मा ओलीले सरकारले हिजो जेनजी अगुवाहरूसँग गरेको सम्झौतालाई कलाविहीन नाटकको संज्ञा दिएका छन् । ओलीले हिजोको सम्झौता आफ्नो नजरमा कुनै वैधता नभएको उल्लेख गर्दै सरकारले त्यस्तो सम्झौता गर्न म्यान्डेट नभएको टिप्पणी गरे ।
सम्पादकहरूसँगको अन्तरक्रियामा ओलीले भने, “हिजोको एउटा कलाविहीन नाटक थियो। जति कलाविहीनताका साथ नाटकको पर्दा उठ्यो, त्यही कलाविहीनताका साथ पटाक्षेप भयो । यो सरकार कुनै त्यस्तो सम्झौता गर्नै सक्दैन। कहाँबाट म्यान्डेट पायो सरकारले ?”
उनले सम्झौताबारे थप टिप्पणी गर्दै वर्तमान सरकारको तुलना नागपञ्चमीमा गोबर लगाएर टाँसेको नागसँग गरे । ओलीले भने, “सरकारले फेद न टुप्पोको ताहुरमाहुर देखाइरहेको छ। कसले ल्याएर टाँसेको हो, मैले थाहा पाएको छैन । खोज्दैछु ।”
ओलीको यो टिप्पणीले राजनीतिक विवाद र बहस थप बलियो हुने सम्भावना देखिन्छ ।









