मंसिर २७ देखि ३० सम्म भक्तपुरको सल्लाघारीमा सुरु हुने नेकपा (एमाले)को ११औं राष्ट्रिय महाधिवेशनमा मधेस प्रदेशबाट ३५२ जना प्रतिनिधि सहभागी हुने पक्का भएको छ।
जिल्लागत प्रतिनिधि संख्या यसप्रकार छ—
पर्सा ४४ , बारा ३८, रौतहट ३२, सर्लाही २६, महोत्तरी ६१, धनुषा ८३, सिरहा ३८ र सप्तरी ३०।
यो प्रतिनिधिमण्डललाई समन्वय गरिरहेकी पोलिटब्यूरो सदस्य तथा एमालेकी वरिष्ठ महिला नेतृ ज्वालाकुमारी साह हाल पर्सा, बारा र रौतहटमा प्रतिनिधि छनोटको अन्तिम व्यवस्थापना कार्यमा व्यस्त छिन्। संगठन विभागले उनीमाथि तीन जिल्लाको संयोजकको जिम्मेवारी दिएको छ।
वीरगंजमा सञ्चारकर्मीहरूसँगको भेटघाटमा नेतृ साहले वर्तमान राजनीतिक परिस्थितिमा केपी शर्मा ओली नै पार्टी र देशको स्थिर नेतृत्वका लागि सक्षम व्यक्तित्व भएको दाबी गरिन्।
उनले भनिन्— “ओली अहिले पनि दिनको १८ घण्टा काम गर्छन्। देश विकास, समृद्धि र राजनीतिक स्थिरताका लागि उनको नेतृत्वभन्दा उपयुक्त विकल्प छैन।”
जेन–जी आन्दोलनका नाममा केही समूहले राजनीतिक दल र नेताहरूलाई बदनाम गर्न खोजेको आरोप लगाउँदै साहले ती गतिविधि “बाहिरी शक्तिबाट प्रभावित” रहेको टिप्पणी गरिन्। उनका अनुसार, “सत्य अन्ततः स्थापित हुन्छ र एमाले तथा केपी ओलीकै नेतृत्वमा देश अघि बढ्छ।”
महाधिवेशनमा यो पटक प्रतिनिधि संख्यामा केही कमी आएको पनि उनले स्पष्ट पारिन्। गत चितवन महाधिवेशनमा ३५१ सदस्यीय केन्द्रीय कमिटी रहेको भए पनि यसपटक प्रस्तावित २५१ सदस्यीय संरचनाअनुसार प्रतिनिधि संख्या घटेको उनको भनाइ छ।
भक्तपुरमा हुने महाधिवेशनमा करिब २४ सय प्रतिनिधि, १० हजार स्वयम्सेवक र कुल दुई लाखभन्दा बढी सहभागी रहने अनुमान गरिएको छ। यस महाधिवेशनले एक अध्यक्ष, सात उपाध्यक्ष, एक महासचिव, दुई उपमहासचिव, सात सचिवसहित २५१ सदस्यीय केन्द्रीय कमिटी गठन गर्नेछ।
जेन–जी आन्दोलनपछि नेतृत्वमा प्रतिस्पर्धा बढ्ने अनुमान गरिए पनि पदाधिकारी छानोटलाई सर्वसम्मत बनाउन प्रयत्न जारी रहेको नेतृ साहको भनाइ छ।








