जसपा नेपालको चुनावी तयारी तीव्र : डेश दौडाहामा केन्द्रीय नेताहरू खटिए

आगामी प्रतिनिधिसभा तथा राष्ट्रिय सभा निर्वाचन नजिकिँदै जाँदा जनता समाजवादी पार्टी (जसपा) नेपालले संगठन सुदृढीकरण र चुनावमुखी गतिविधि तीव्र पारेको छ। पार्टीले आफ्नो केन्द्रदेखि स्थानीय तहसम्मको संरचनालाई सक्रिय बनाउँदै सम्पूर्ण केन्द्रीय सदस्यलाई देशभरका निर्वाचन क्षेत्रमा प्रत्यक्ष रूपमा खटाएको छ।

पार्टीको प्रचार प्रसार तथा प्रकाशन विभागका अनुसार, खटाइएका केन्द्रीय नेताहरूले सम्बन्धित क्षेत्रका समन्वय समिति, बूथ समिति र बाँकी रहेका टोलसम्मका संरचना छिटो गठन गरी सञ्चालनमा ल्याउने जिम्मेवारी पाएका छन्। यससँगै, मतदाता शिक्षादेखि आर्थिक व्यवस्थापन, स्वयंसेवक परिचालन र प्रशिक्षणजस्ता मुख्य चुनावी गतिविधि योजनाबद्धरूपमा अघि बढाइनेछ।

जसपाले प्रत्येक निर्वाचन क्षेत्रमा कार्ययोजना समयमै कार्यान्वयन गर्न केन्द्रीय नेताहरूलाई प्रत्यक्ष जिम्मेवारी तोकेको छ।
तिनले स्थानीय मतदाता तथ्याङ्क, संगठनको वास्तविक स्थिति, प्रतिस्पर्धी दलहरूको प्रभाव तथा सम्भावित जोखिम–अवसरहरूको विश्लेषणसहित नियमित प्रतिवेदन केन्द्रीय कार्यालयमा बुझाउनुपर्नेछ।

यसबाहेक, पार्टीलाई बलियो सम्भावना भएको क्षेत्र पहिचान गरी त्यस्ता क्षेत्रमा विशेष रणनीति, शक्ति परिचालन र तथ्याङ्क–आधारित अभियान संचालन गर्न निर्देशन दिइएको छ।

प्रचार प्रसार विभागका अनुसार, “यो अभियानलाई पूर्ण रूपमा परिणाममुखी बनाउने लक्ष्यका साथ सुरु गरिएको हो, ताकि आगामी निर्वाचनमा जसपाले अधिकतम प्रभाव देखाउन सकोस्।”

सम्बन्धित पोस्टहरुः