वीरगंज , मंसिर – २८
वीरगंज महानगरपालिकाले घण्टाघर नजिकको बिपी उद्यान पार्कमा वर्षौँदेखि सञ्चालन हुँदै आएको अस्थायी थोक तरकारी तथा फलफूल बजार भत्काएको छ ।
सार्वजनिक उद्यानलाई व्यवस्थित र हरित पार्कका रूपमा विकास गर्ने दीर्घकालीन योजनाअन्तर्गत डोजर प्रयोग गरी संरचना हटाइएको महानगरले जनाएको छ ।
महानगरका अनुसार वीरगञ्ज–२ छपकैयास्थित रेल्वे रोड छेउमा करोडौँ लगानीमा सुविधा सम्पन्न नयाँ थोक तरकारी तथा फलफूल बजार निर्माण गरी गत मङ्सिर २१ गतेदेखि सञ्चालनमा ल्याइसकिएको छ ।
उक्त बजारमा खुद्रा र थोक कारोबार छुट्टाछुट्टै, फोहर व्यवस्थापन, पार्किङलगायतका आवश्यक सुविधा उपलब्ध छन्।
तर, बिपी उद्यानमा व्यवसाय गर्दै आएका व्यापारीहरू नयाँ स्थानमा सर्न नमानेपछि पटक–पटक सूचना जारी गर्दा पनि अटेर गरिएको भन्दै महानगर डोजर चलाउन बाध्य भएको बताइएको छ ।
बिहान ५ बजेदेखि नगर प्रहरी, सशस्त्र प्रहरी बल र नेपाल प्रहरीको सुरक्षा घेरामा अस्थायी टहरा तथा संरचना भत्काइएको थियो । सो क्रममा व्यवसायीहरूले विरोध जनाउँदै केही समय सडक अवरुद्ध गरेका थिए
फलफूल तथा तरकारी व्यवसायी सङ्घका अध्यक्ष जगु साह तुराहाले पूर्वसूचना नदिई एकाएक डोजर चलाउँदा लाखौँ रुपैयाँ बराबरको ताजा तरकारी र सामग्री नष्ट भएको बताए । उनले छपकैयाको बजार व्यवसायी र उपभोक्ताका लागि पायक नपर्ने समेत बताए ।














