विद्यालय पोशाक नलगाई बुर्का लगाउने कार्यबारे प्रजिअको ध्यानाकर्षण

वीरगंज। हिन्दू सम्राट नेपाल, पर्साले सोमवार जिल्ला प्रशासन कार्यालय, पर्सामा ज्ञापनपत्र बुझाउँदै विद्यालयमा अध्ययनरत छात्राहरुले विद्यालय पोशाक नलगाई बुर्का लगाउने कार्यबारे प्रजिअको ध्यानाकर्षण गराएको छ ।

पर्सा जिल्ला कार्य समितिका अध्यक्ष बिकाश साहको नेतृत्वमा गएको टोलीले प्रमुख जिल्ला अधिकारी भोला दाहाललाई ज्ञापनपत्र बुझाउँदै विद्यालयमा अध्ययनरत छात्रछात्रा देशका कर्णधार भएकाले धर्मका आधारमा फरक–फरक पोसाकको सट्टा एकसमान विद्यालय पोसाक अनिवार्य गरिनुपर्ने माग गरिएको छ। एकरूप पोसाक लागू गर्दा छात्रछात्राबीच सम्भावित विवाद तथा विभेदको अवस्था नआउने संगठनको ज्ञापनपत्रमा उल्लेख छ ।

विद्यालयको पोसाक बाहिर गई हिजाब वा बुर्का लगाउने प्रचलनले समस्या सिर्जना गर्न सक्ने भन्दै, यसलाई अविलम्ब बन्द गरिनुपर्ने सुझाव समेत दिइएको छ । धार्मिक पहिचानसहित अध्ययन गर्न चाहने विद्यार्थीहरूका लागि सम्बन्धीत इस्लामिक विद्यालयमा अध्ययन गर्ने विकल्प खुला रहनुपर्ने उल्लेख गरिएको छ ।

त्यसैगरी ज्ञापनपत्रमार्फत आउँदो डिसेम्बर २५ (क्रिसमस डे) का दिन विद्यालयमा हिन्दू विद्यार्थीहरूलाई जबरजस्ती ‘सान्टा’ नबनाइयोस् भन्ने विषयमा पनि ध्यानाकर्षण गराइएको छ । हिन्दू सम्राट नेपालले विद्यालयलाई शैक्षिक स्थलको रूपमा सीमित राख्दै, धार्मिक गतिविधि वा पहिचान थोपर्ने कार्य नगर्न सम्बन्धीत निकायसँग आग्रह गरेको छ ।

सम्बन्धित पोस्टहरुः