वीरगंज , पुष – ५
सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण हेडक्वार्टर पर्साबाट खटिएको टोलीले भारतबाट भन्सार छलि नेपालतर्फ ल्याइँदै गरेका करिब १६ लाख रुपैयाँ बराबरका कपडा, किराना तथा कस्मेटिक सामग्री बरामद गरेको छ ।
सशस्त्र प्रहरीका अनुसार वीरगंज महानगरपालिका–२५ खलवा नाका क्षेत्रमा विभिन्न सवारी साधनमार्फत ल्याइँदै गरिएको ७ लाख ५६ हजार ४ सय ९० रुपैयाँ बराबरको कपडा तथा कस्मेटिक सामग्री नियन्त्रणमा लिइ आवश्यक कारबाहीका लागि वीरगञ्ज भन्सार कार्यालयमा बुझाइएको छ ।
त्यसैगरी सीमा सुरक्षा गुल्म हेडक्वार्टर वीरगंजबाट खटिएको टोलीले वीरगञ्ज महानगरपालिका–१५ खलवा नाकाबाट साइकलमा लोड गरी ल्याइँदै गरेको ७ लाख ४९ हजार ८ सय रुपैयाँ बराबरको कपडा, किराना, कफीदाना तथा कस्मेटिक सामग्री बरामद गरेको छ ।
यस्तै, सीमा सुरक्षा गुल्म हेडक्वार्टर अलौबाट खटिएको टोलीले वीरगंज महानगरपालिका–१७ कोनिया क्षेत्रमा साइकलमार्फत ल्याइँदै गरेको १ लाख २ हजार ५ सय ७० रुपैयाँ बराबरको किराना सामग्री र एयरबड्स नियन्त्रणमा लिएको छ । बरामद सबै सामानहरू वीरगंज भन्सार कार्यालयमा बुझाइएको जनाइएको छ ।
सशस्त्र प्रहरी बल नं. १३ गण हेडक्वार्टर पर्साका सूचना अधिकारी सशस्त्र प्रहरी नायब उपरीक्षक विश्वराज योञ्जनले सीमावर्ती क्षेत्रमा हुने अवैध ओसारपसार नियन्त्रणका लागि निगरानी थप कडा बनाइएको र यस्ता कारबाही निरन्तर जारी रहने बताएका छन् ।















