वीरगंज , पुष – ५
नेपालमा पहिलो पटक राष्ट्रिय बाली प्रजनन, अनुवंश र बीउ विज्ञान सम्मेलन आयोजना हुने भएको छ। नेपाल कृषि अनुसन्धान परिषद् (नार्क) अन्तर्गत राष्ट्रिय कृषि अनुसन्धान प्रतिष्ठान तथा बाली प्रजनन तथा अनुवंश समाज नेपालको आयोजना र जिन बैंक, लिबर्ड, अक्सफामलगायत संस्थाको सहआयोजनामा सम्मेलन हुन लागेको हो।
आउँदो माघ ६ गतेदेखि तीन दिनसम्म ललितपुरमा हुने सम्मेलनमा बाली प्रजनन र अनुवंशिक अनुसन्धानको इतिहासदेखि वर्तमान अवस्थासम्मको समीक्षा गर्दै बीउ क्षेत्रमा देखिएका चुनौती र भावी कार्यदिशाबारे छलफल गरिनेछ।
सम्मेलनमा देशभरका वैज्ञानिक, प्राविधिक, प्राध्यापक, विद्यार्थी र किसान गरी करिब १५० जनाको सहभागिता रहने आयोजक समितिले जनाएको छ। विभिन्न ६ विषयगत समूहमा करिब ५० वटा कार्यपत्र प्रस्तुत हुने अपेक्षा गरिएको छ।















