वीरगंज । दिल्ली पब्लिक स्कूल वीरगंजले २१ औं वार्षिकोत्सव धुमधामका साथ मनाएको छ । बारा, परवानीपुर–४ चैनपुरस्थित विद्यालयको परिसरमा आयोजित भव्य समारोहमा विविध कार्यक्रम गर्दै विद्यालयले वार्षिकोत्सव मनाएको हो ।
कार्यक्रमका मुख्य अतिथि एवं वीरगंज उद्योग वाणिज्य सङ्घका अध्यक्ष हरि गौतमले पानसमा दियो बालेर समारोहको उद्घाटन गरेका थिए ।
स्वागत मन्तव्यको क्रममा विद्यालयका प्रिन्सिपल रञ्जीव आनन्दले विद्यालयको गतिविधि र विद्यालय परिवारले शिक्षाको क्षेत्रमा दिइरहेको योगदानबारे चर्चा गरे ।
डिपिएस स्कूल विद्यार्थीको चौतर्फी विकासको लागि कट्टिबद्ध भएको भन्दै त्यसको लागि अभिभावकहरू पनि जिम्मेवार बन्नुपर्ने कुरामा उनले जोड दिएका थिए ।
मुख्य अतिथि गौतमले विद्यार्थीहरूको विविध अतिरिक्त क्रियाकलाप एवं सांस्क.तिक कार्यक्रम देखेर निकै भावुक र प्रभावित बनेको बताउँदै विद्यालयको प्रशंसा गरे ।
उनले असल एवं दक्ष जनशक्ति उत्पादनमा विद्यालयको महत्त्वपूर्ण भूमिका हुन्छ, त्यसमा यो विद्यालय गम्भीर भएर लागेको पाउँदा हर्षित भएको बताए ।
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष सत्यनारायण अग्रवालको अध्यक्षता एवं विभिन्न विद्यार्थीहरूले सहजीकरण गरेको कार्यक्रममा नर्सरीदेखि कक्षा १२ सम्मका विद्यार्थीहरूले अतिरिक्त क्रियाकलाप तथा साङ्गीतिक प्रस्तुतिमा भाग लिएका थिए ।
कार्यक्रममा विशिष्ट अतिथि उद्योगी गणेश लाठ, पूर्व विद्यालय व्यवस्थापन समितिका अध्यक्ष भिखमचन्द अग्रवाल, सिजी समूहका शैक्षिक निर्देशक भूषण गुरुङ, शैक्षिक प्रमुख गर्ली अग्रवाल, भारतीय महावाणिज्य दूतावासका कन्सुलर सञ्जय कुमारलगायतको सहभागिता थियो ।
















