वीरगंज । एचआइभी एड्सको सङ्क्रमण रोकथामका लागि राज्य जिम्मेवार हुनुपर्ने वक्ताहरूले जोड दिएका छन् । एड्स हेल्थकेयर फाउन्डेशन (एएचएफ ) नेपालको आयोजनामा होटल मकालुमा ‘नेपालमा एचआइभी कार्यक्रमको वर्तमान अवस्था’ बारे पत्रकारहरूसँग भएको छलफल कार्यक्रममा सहभागी वक्ताहरूले यस्तो बताएका हुन् ।
एचआइभी सङ्क्रमितको उपचार जटिल र खर्चिलो भएकोले सङ्घ सरकारको बजेट मात्रै पर्याप्त नहुने भन्दै स्थानीय र प्रदेश सरकारले पनि यस क्षेत्रमा लगानी बढाउनुपर्ने आवश्यकता रहेको वक्ताहरूले बताएका छन् । एचआइभी सम्बन्धी कार्यक्रमहरू कागजमैं सीमित नभई प्रभावकारीरूपमा कार्यान्वयन हुनुपर्ने आवश्यकतामा सहभागीहरूले जोड दिएका थिए ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय अन्तर्गतको राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रको सहयोगमा सम्पन्न कार्यक्रममा नेपालमा एचआइभी कार्यक्रमको वर्तमान अवस्था, चुनौती र आगामी रणनीतिबारे छलफल गरिएको थियो ।
कार्यक्रममा राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका निर्देशक डा. सर्वेश शर्माले राष्ट्रिय एचआइभी कार्यक्रमको अवस्थाबारे प्रस्तुति दिंदै सन् २०३० सम्म नेपालमा एड्स इपिडेमिक अन्त्य गर्ने लक्ष्य अनुसार केन्द्रले समावेशी र पहुँचयोग्य सेवा सुनिश्चित गर्न काम गरिरहेको जानकारी दिए । उनका अनुसार हाल नेपालमा ३४,३३७ जना एचआइभी सङ्क्रमित छन्, जसमध्ये ५८ प्रतिशत पुरुष र ४२ प्रतिशत महिला छन् । १४ वर्ष मुनिका सङ्क्रमितको सङ्ख्या १,०५८ छ भने मधेस प्रदेशमा ४,६८७ जना उपचाररत छन् ।
हाल देशका ६४ जिल्लामा ९६ वटा एआरटी सेन्टरमार्फत एचआइभीसम्बन्धी सेवा प्रवाह भइरहेको उल्लेख गर्दै डा. शर्माले भारतसँग खुला सीमा जोडिएका क्षेत्रहरूमा सङ्क्रमणको जोखिम बढी रहेको बताए । सङ्क्रमित आमा–बुबालाई नियमित औषधि सेवनमा जोड दिनु र बच्चामा सङ्क्रमण हुन नदिन विशेष ध्यान दिनुपर्ने उनको भनाइ थियो । यौन रोग नियन्त्रणका कार्यक्रमहरूमा बजेट अभाव, एआरटी काउन्सलरको कमी र हरेक वर्ष सङ्क्रमितको सङ्ख्या बढ्दै जानु चिन्ताको विषय बनेको उनले बताए । सेवा विस्तार हुँदै गए पनि यस क्षेत्रमा सरकारको बजेट भने घट्दै गएकोमा उनले चिन्ता व्यक्त गरे ।
नेपाल पत्रकार महासङ्घ, पर्साका अध्यक्ष ओमप्रकाश खनालले सीमा क्षेत्रहरू एचआइभीका दृष्टिले बढी संवेदनशील भएकाले मिडियाले यस्ता विषयमा निरन्तर सहकार्य र अनुगमन गर्नुपर्ने बताए । नागरिकलाई सही सूचना दिन र सचेतना फैलाउन मिडियाको भूमिका अझ प्रभावकारी हुनुपर्ने उनको धारणा थियो ।
कार्यक्रममा स्वास्थ्य कार्यालय पर्साका प्रमुख विनोद झा र वीरगंज महानगरपालिकाका जनस्वास्थ्य प्रवद्र्धन शाखाका प्रमुख राजु साहले जिल्ला र महानगरभित्र एचआइभी परीक्षण, उपचार र सचेतनाका क्षेत्रमा भइरहेका कामहरूको जानकारी गराए ।
एएचएफ नेपालका बजार तथा कार्यक्रम व्यवस्थापक राधेश्याम श्रेष्ठले संस्थाबारे जानकारी दिएका थिए । कार्यक्रमको उद्देश्यबारे एएचएफ नेपालका वरिष्ठ कार्यक्रम संयोजक कृष्णहरि सापकोटाले प्रकाश पारेका थिए । एएचएफ नेपालकी काउन्सलर रोशनी सर्राफले पनि काउन्सिलिङ र फिल्डस्तरका अनुभवबारे जानकारी दिेककी थिइन् ।
कार्यक्रममा एएचएफ नेपालका मयङ्क गुप्ता, राघवेन्द्र पाललगायत सरोकारवालाको उपस्थिति थियो । राष्ट्रिय एड्स तथा यौन रोग नियन्त्रण केन्द्रका सूचना अधिकारी लोकराज पाण्डेले कार्यक्रमको सहजीकरण गरेका थिए ।
















