वीरगंज , पुष – ६
मधेस प्रदेश सभामा रिक्त रहेको सभामुख पदका लागि आज हुने निर्वाचनअघि सत्तारुढ दलहरूले ह्विप जारी गरेका छन्। सत्तारुढ गठबन्धनले आ–आफ्नो संसदीय दलमार्फत सभामुखका साझा उम्मेदवारको पक्षमा मतदान गर्न ह्विप जारी गरेको हो।
गठबन्धनबाट सभामुखका उम्मेदवार जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रमुख सचेतक रामअशिष यादव रहेका छन्। सत्तारुढ दलहरूले प्रदेशसभा सदस्यहरूलाई यादवको पक्षमा अनिवार्य रूपमा मतदान गर्न निर्देशन दिएका छन्।
यता, विपक्षी दल नेकपा एमालेबाट प्रदेशसभा सदस्य त्रिलोकी प्रसादले पनि सभामुख पदका लागि उम्मेदवारी दर्ता गराएका छन् ।
रामअशिष यादवको उम्मेदवारीमा नेपाली कांग्रेसका प्रदेशसभा सदस्य वीरेन्द्रकुमार सिंह प्रस्तावक रहेका छन् भने नेकपा माओवादी केन्द्रका प्रदेशसभा सदस्य फकिरा महतो समर्थक बनेका छन् ।
आज हुने निर्वाचनबाट मधेस प्रदेश सभाले नयाँ सभामुख पाउनेछ।















