वीरगंंज , पूष- ६
नेपाल क्रिकेट संघ (क्यान) ले भारत र श्रीलङ्कामा संयुक्त रूपमा हुने आइसिसी मेन्स टी–२० विश्वकप २०२६ का लागि २४ सदस्यीय प्रारम्भिक टोली सार्वजनिक गरेको छ। क्यानले पुस ७ गतेदेखि सुरु हुने बन्द प्रशिक्षण क्याम्पका लागि खेलाडीहरू छनोट गरेको हो।
प्रारम्भिक टोलीमा अनुभवी खेलाडीका साथै नेपाल प्रिमियर लिग (एनपीएल) सिजन–२ मा उत्कृष्ट प्रदर्शन गरेका युवा खेलाडीहरूलाई पनि अवसर दिइएको छ। एनपीएलमा राम्रो प्रदर्शन गरेका शेर मल्ल, विनोद भण्डारी, अभिनास बोहरा र शाहब आलम टोलीमा परेका छन्।
टोलीमा रोहित पौडेल, कुशल भुर्तेल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, कुशल मल्ल, सोमपाल कामी, करण केसीलगायत खेलाडी समावेश छन्। विशेष रूपमा वीरगञ्जका आरिफ शेख र आसिफ शेख पनि प्रारम्भिक टोलीमा अटाएका छन्।
क्यानका अनुसार प्रशिक्षण क्याम्पपछि खेलाडीको फर्म र फिटनेसका आधारमा अन्तिम १५ सदस्यीय टोली घोषणा गरिनेछ। नेपाल विश्वकपमा तेस्रो पटक सहभागी हुँदै समूह ‘सी’ मा इंग्ल्यान्ड, वेस्ट इन्डिज, बङ्गलादेश र इटालीसँग प्रतिस्पर्धा गर्नेछ।















