वीरगंज , पुष – ७
नेपाली सेनाले भदौ २३ र २४ गते भएको नवयुवा आन्दोलन र त्यसपछिको अशान्त परिस्थितिमा संविधान अनुसार सीमित र संयमित भूमिका निर्वाह गरेको जनाएको छ ।
जङ्गी अड्डाले जारी गरेको विश्लेषणमा ती दिनहरूमा देश उच्च जोखिममा रहेको र थप मानवीय क्षति रोक्नु नै सेनाको मुख्य लक्ष्य रहेको उल्लेख छ । सेनाले कार्यपालिकाको स्पष्ट आदेशबिना हस्तक्षेप गर्दा थप जनधनको क्षति हुने र दोष सेनामाथि पर्ने खतरा रहेको पनि विश्लेषणमा उल्लेख गरिएको छ ।
सङ्कटको समयमा उद्धार, मानवीय सहायता र संवेदनशील क्षेत्रको सुरक्षा सुनिश्चित गर्न सीमित तर आवश्यक भूमिका खेलेको सेनाले जनाएको छ ।
राजनीतिक अन्योलका बीच परिस्थितिलाई बिग्रिन नदिन सरोकारवालाबीच संवाद र समन्वय सिर्जना गर्न सहजीकरण गरेको र कुनै राजनीतिक एजेन्डा अघि नबढाएको पनि स्पष्ट पारेको छ । निर्णयको अधिकार कार्यपालिका र राष्ट्रपतिमा सीमित रहँदा सेनाले त्यसको पूर्ण सम्मान गरेको उल्लेख छ ।














