वीरगंज , पुष – ६
मधेश प्रदेशमा गत भदौ २३ र २४ गतेको जेन–जी आन्दोलनपछि तेस्रो मुख्यमन्त्री नियुक्त भए पनि सरकारका काम अझै गति पाएका छैनन्। लगातार सरकार फेर्ने र मुख्यमन्त्री परिवर्तन गर्ने क्रमले मन्त्रालयका काम प्रभावित भएका हुन् ।
अहिलेसम्मको अवस्थामा खेलकुद तथा समाज कल्याण मन्त्रालय असोज २८ गतेदेखि मन्त्रीविहीन छ भने अन्य मन्त्रालयको काम पनि सुस्त भएको छ। चालु आर्थिक वर्षको पहिलो त्रैमासिकमा प्रदेश सरकारले मात्र ३.५ प्रतिशत बजेट खर्च गरेको छ ।
प्रदेश लेखा नियन्त्रक मनोजकुमार झाले जानकारी दिएअनुसार १ अर्ब ६२ करोड २८ लाख रुपैयाँ मात्र खर्च भएको छ, जसमा चालुतर्फ १ अर्ब २८ करोड ४२ लाख र पूँजीगत तर्फ ३३ करोड ८५ लाख खर्च भएको हो ।
प्रदेशमा पहिलो त्रैमासिकमा चालुतर्फ बजेटको ७.६८ प्रतिशत र पूँजीगत बजेटको १.१८ प्रतिशत मात्र खर्च भएको छ। मधेश प्रदेशको कुल बजेट ४६ अर्ब ९८ करोड रहेको छ ।
पछिल्ला तीन वर्षमा मधेश प्रदेशमा पाँच जना मुख्यमन्त्री फेरिँदा सरकार स्थिर नहुँदा मन्त्रालय सञ्चालन र बजेट खर्च दुवैमा प्रतिकूल प्रभाव परेको छ ।














