पर्सा जिल्लामा पछिल्लो केही दिनयता चिसो अत्याधिक बढेपछि विभिन्न पालिकाले विद्यालयहरूमा जाडो बिदा दिने निर्णय गरेका छन् । वीरगंज महानगरपालिका, पोखरिया नगरपालिका, पकहाँ–मैनपुर र छिपहरमाई गाउँपालिकाले आफ्ना विद्यालयहरूमा बिदा दिने निर्णय गरेका हुन् ।
वीरगंज महानगरपालिकाले सोमबारदेखि बुधबार (पुस ७–९) सम्म सबै सामुदायिक र संस्थागत विद्यालयमा पठनपाठन स्थगित गरेको छ । शैक्षिक प्रशासन महाशाखाका प्रमुख आनन्द लामिछानेका अनुसार, पुस १० गते क्रिसमस सार्वजनिक बिदा र पुस ११ गते वर्षे बिदा कट्टा भएपछि पठनपाठन पुस १३ गते आइतबारदेखि मात्र सुचारु हुनेछ।
पकहाँ–मैनपुर गाउँपालिकाले पुस ८–९ गते, पोखरिया नगरपालिकाले पुस ८–११ गते र छिपहरमाई गाउँपालिकाले पुस ८–९ गतेसम्म विद्यालय बन्द गर्ने निर्णय गरेको छ ।
तराई–मधेसमा बढेको चिसो र हुस्सुका कारण बालबालिका, वृद्धवृद्धा र दैनिक ज्याला मजदुरी गर्नेहरू बढी प्रभावित भएका छन् ।















