वीरगंज , पूष- ८
पर्सा जिल्लामा सुरु भएको शीतलहर र चिसोले जनजीवन प्रभावित हुन सक्ने भन्दै जिल्ला प्रशासनले सबै नागरिकलाई सतर्क रहन आग्रह गरेको छ । विशेष गरी बालबालिका, वृद्धवृद्धा, सुत्केरी तथा गर्भवती महिला, गरीब र सीमान्तकृत वर्ग बढी जोखिममा पर्ने भएकाले आवश्यक सावधानी अपनाउन प्रशासनले अनुरोध गरेको छ ।
न्यानो कपडा लगाउने, अत्यधिक चिसोमा बाहिर ननिस्कने, सुत्दा कम्बल र सिरक प्रयोग गर्ने, बालबालिका र वृद्धवृद्धाको विशेष हेरचाह गर्ने जस्ता उपाय अपनाउन सुझाव दिइएको छ । ज्वरो, खोकी, सास फेर्न गाह्रो हुने लक्षण देखिए स्वास्थ्यकर्मीको सम्पर्कमा जान समेत प्रशासनले आग्रह गरेको छ ।
पशुपन्छीलाई गोठभित्र राख्ने, गोठ सफा र न्यानो बनाउने, र बिरामी भए नजिकको पशु चिकित्सालयमा सम्पर्क गर्ने सुझाव पनि दिइएको छ। साथै आगो बाल्दा वा हिटर प्रयोग गर्दा सुरक्षा अपनाउन, सवारी चलाउँदा हुस्सु र कुहिरोमा सावधानी अपनाउन सबैलाई सचेत गराइएको छ ।















