वीरगंज, ८ पुस । एनआइ कप टि–२० को छैटौं दिन मंगलवारको पहिलो खेलमा ग्लोबल बिजनेस कलेजले वीरगंज इन्स्टिच्युट अफ टेक्नोलोजी (बिआइटी) लाई १०० रनको फराकिलो अन्तरले पराजित गर्दै दोस्रो जीत दर्ता गरेको छ।
नारायणी क्रिकेट मैदानमा आयोजित प्रतियोगितामा टस जितेर पहिले ब्याटिङ गरेको ग्लोबलले २० ओभरमा २ विकेटको क्षतिमा १८३ रन बनायो । ओपनर रविन्द्र सिंह कुँवरले अविजित ८३ रनको उत्कृष्ट पारी खेले भने शुभम् बरालले ३३ र रबिन मण्डलले ४४ रनको योगदान दिए ।
१८४ रनको लक्ष्य पछ्याएको बिआइटी १९.३ ओभरमै ८३ रनमा अलआउट भयो । बिआइटीका लागि मरूफ अन्सारीले २२ र निखिल पटेलले १७ रन बनाए । बलिङतर्फ ग्लोबलका अनुज ठाकुरले ५ विकेट लिँदै शानदार प्रदर्शन गरेका थिए ।
यसअघिघ ग्लोबलले ओम नेशनल एकेडेमीलाई पनि ठूलो अन्तरले पराजित गरेको थियो । प्रतियोगिता अन्तर्गत हाल आयोजक नेशनल इन्फोटेक कलेज र हेटौंडा स्कुल अफ म्यानेजमेन्टबीच प्रतिस्पर्धा छ।
एनआइ कपमा पर्सा, बारा र मकवानपुरका १० कलेज सहभागी छन ।















