वीरगंज , पूष- ९
गत भदौमा भएको जेन–जी आन्दोलनका क्रममा काठमाडौँस्थित केन्द्रीय कारागार (सुनधारा) बाट फरार भएका दुई जना कैदीलाई पर्सा प्रहरीले वीरगञ्जबाट पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार विशेष सूचनाका आधारमा खटिएको प्रहरी टोलीले बाराको विश्रामपुर गाउँपालिका–५ का २५ वर्षीय सुदामा पासवान (प्रदेशी) लाई गएराती वीरगंज – १५ भिष्वाबाट पक्राउ गरेको हो । पासवान कर्तव्य ज्यान मुद्दामा २५ वर्ष कैद सजाय भुक्तान गरिरहेका थिए । उनी भदौ २४ गते आन्दोलनका क्रममा कारागारबाट फरार भएका थिए ।
त्यसैगरी, बाराको परवानीपुर गाउँपालिका–२ का ३२ वर्षीय विवेकलाल साह कानुलाई पनि सोही दिन दिउँसो वीरगञ्ज महानगरपालिका–४ बिर्ता टोलबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ । साह बैंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनको हेटौडा इजलासको आदेशअनुसार ५० हजार रुपैयाँ धरौटी तिर्न नसकी केन्द्रीय कारागार चलान भएका थिए । उनी पनि आन्दोलनकै क्रममा फरार भएका थिए ।
पक्राउ परेका दुवै जनालाई वीरगंज कारागारमा बुझाइएको जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता एवं प्रहरी नायब उपरीक्षक राजु कार्कीले जानकारी दिए ।















