वीरगंज , पुष – ९
बंगलादेशमा एक हिन्दु युवकलाई जिउँदै जलाएर हत्या गरिएको घटनाको विरोधमा वीरगन्जमा महिला र युवतीहरूले प्रदर्शन गरेका छन् । विश्व हिन्दु परिषद नेपाल महिला विभागको अगुवाइमा बुधबार ठाकुरराम बहुमुखी क्याम्पस अगाडिबाट सुरु भएको विरोध जुलुस आदर्शनगर, माईस्थान र घण्टाघर हुँदै जिल्ला प्रशासन कार्यालयसम्म पुगेको थियो।
प्रदर्शनपछि पर्साका प्रमुख जिल्ला अधिकारी भोला दाहालमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा ज्ञापनपत्र बुझाउँदै सहभागीहरूले ३० वर्षीय दिपुचन्द्र दासको हत्यामा संलग्नलाई कारबाही गर्न माग गरेका छन् । साथै घटनाको स्वतन्त्र र निष्पक्ष छानबिनका लागि नेपाल सरकारले बंगलादेश सरकारसँग कूटनीतिक पहल गर्नुपर्ने समेत उनीहरुको माग छ ।
उनीहरूले बंगलादेशमा रहेका हिन्दु अल्पसंख्यक समुदायको सुरक्षा सुनिश्चित गर्न, परराष्ट्र मन्त्रालयमार्फत औपचारिक विरोध जनाउन तथा अन्तर्राष्ट्रिय मञ्चमा विषय उठाउन सरकारसँग आग्रह गरेका छन्। साथै सीमा नाकामा कडा निगरानी गरी अवैध घुसपैठ र कट्टरपन्थी गतिविधि नियन्त्रण गर्नुपर्ने माग पनि गरिएको छ।















