वीरगंज , पुष – १०
वीरगंजको आदर्श नगरस्थित होटल सरोबरमा ‘महाजगङ क्यासिनो’ सञ्चालनमा आएको छ । यससँगै वीरगंजमा क्यासिनोको संख्या चार पुगेको छ । यसअघि आदर्श नगरकै होटल दियालो प्लाजामा किङ्स क्यासिनो, होटल सुरजमा फरचुन सिटी गेमिङ क्यासिनो तथा वीरगंज गण्डकस्थित होटल क्लार्क रिसोर्टमा गोल्डेन फिगर क्यासिनो सञ्चालनमा छन्।
अन्तर्राष्ट्रिय मापदण्डअनुसार सीमा क्षेत्रबाट कम्तीमा पाँच किलोमिटर टाढा क्यासिनो सञ्चालन गर्नुपर्ने व्यवस्था भए पनि होटल क्लार्कमा रहेको गोल्डेन फिगर क्यासिनोबाहेक अन्य तीनवटै क्यासिनो सीमा क्षेत्रबाट तीन किलोमिटरभन्दा कम दूरीमै सञ्चालनमा रहेका छन् ।
भारतीय नागरिकलाई लक्षित गरी खोलिएका क्यासिनोमा पछिल्लो समय नेपालीहरूको प्रवेशसमेत बढ्दै गएको छ । क्यासिनो गएर ठगी तथा लुटपाटमा परेको गुनासो आउने गरेको स्थानीयको भनाइ छ । प्रहरीको फितलो अनुगमनका कारण विभिन्न बहानामा क्यासिनो जाने र ठगिने क्रम बढेको आरोपसमेत छ ।
नेपाल राजपत्र भाग ३, मिति २०८३–०३–३० मा प्रकाशित दफा ४५(छ) को उपदफा (२) अनुसार सीमा क्षेत्रबाट पाँच किलोमिटरभित्र क्यासिनो सञ्चालन गर्न सुरक्षा योजना र सीमा सुरक्षाको मूल्याङ्कनसहित जिल्ला सुरक्षा समितिको सिफारिस आवश्यक पर्ने व्यवस्था छ ।
यद्यपि, वीरगंजमा चौथो क्यासिनो सञ्चालनको सन्दर्भमा तत्कालीन प्रमुख जिल्ला अधिकारी गणेश अर्याल संयोजक रहेको जिल्ला सुरक्षा समितिले साउन २ गतेको बैठकबाट मायो जिगङ प्रालिको निवेदनमा पर्यटन विभागका नाममा सिफारिस गरेको र साउन ७ गते जिल्ला प्रशासन कार्यालय पर्साले पत्राचार गरेपछि महाजगङ क्यासिनो सञ्चालनमा आएको हो । यसले क्यासिनो सञ्चालनमा कानुनी प्रक्रिया र मापदण्ड पालना भए–नभएको विषयमा प्रश्न उठाएको छ ।















