दलितमाथि आगजनी र कुटपिट घटनामा राष्ट्रिय दलित आयोगको अनुगमन

वीरगंज  , पूष – १०

पर्सा जिल्लाको बहुदरामाई नगरपालिका–२ सिसियाडी गाउँमा बाटो विवादका क्रममा दलित समुदायका एक परिवारमाथि भएको आगजनी र कुटपिट घटनाको राष्ट्रिय दलित आयोगले स्थलगत अनुगमन गरेको छ।

आयोगका अध्यक्ष देवराज विश्वकर्मा तथा सदस्य एवं मधेश प्रदेश संयोजक सुन्दर पुकुर्टीसहितको टोलीले घटनास्थल पुगेर पीडित परिवारसँग भेटघाट गरेको हो। टोलीले प्रमुख जिल्ला अधिकारी भोला दहाल र प्रहरी उपरीक्षक सुदिपराज पाठकसँग छलफल गर्दै घटनाबारे जानकारी लिएको छ।

पीडित भागरित पासवानले निजी नम्बरी जग्गामा बाटो दिन अस्वीकार गरेकै कारण विपक्षी समूहले घरमा पेट्रोल छर्केर आगजनी गर्नुका साथै आफू र श्रीमती मिना देवीमाथि कुटपिट गरेको बताएका छन्। आगलागीबाट घर, अन्न, नगद, गहना, कपडालगायत सामग्रीमा लाखौँ रुपैयाँ बराबरको क्षति भएको पीडित परिवारको भनाइ छ।

अनुगमनपछि अध्यक्ष विश्वकर्माले घटना गम्भीर र निन्दनीय रहेको भन्दै दोषी जो–कोही भए पनि कानुनअनुसार कडा कारबाही गर्न प्रशासनलाई निर्देशन दिए। साथै पीडित परिवारको सुरक्षा, उपचार र क्षतिपूर्तिको व्यवस्था तत्काल गर्नुपर्ने बताए।

आयोगका सदस्य पुकुर्टीले घटनाले समाजमा अझै जातीय विभेद विद्यमान रहेको देखाएको उल्लेख गर्दै निष्पक्ष र प्रभावकारी अनुसन्धान गर्न आग्रह गरे। आयोगले पीडितलाई न्याय दिलाउन निरन्तर अनुगमन र पहल गर्ने जनाएको छ।

दलित अभियन्ता मनोज रामको पहलमा आयोगको टोली घटनास्थल पुगेको हो। घटनाबारे थप अनुसन्धान जारी रहेको प्रहरीले जनाएको छ।

सम्बन्धित पोस्टहरुः