धनुषा, ११ पुस : मधेस प्रदेशसभाका सभामुख रामआशिष यादवले लोकतन्त्रको संस्थागत विकासका लागि पत्रकारले स्वतन्त्र, निष्पक्ष र भयरहित वातावरणमा कलम चलाउनुपर्ने बताउनुभएको छ ।
पत्रकारहरूसँग जनकपुरधाममा आज आयोजित अन्तक्र्रिया तथा सम्मान कार्यक्रममा उहाँले पत्रकारिता क्षेत्र देशको ऐना भएकाले जनतालाई गुमराहमा नराखी सत्यतथ्य समाचार प्रकाशित गर्न आग्रह गर्नुभयो । साथै उहाँले देशमा व्यापक रूपमा विकृति एवं विसङ्गति बढ्दै गएकाले राजनीतिक दल, नागरिक समाज र पत्रकारिता क्षेत्रले आआफ्नो क्षेत्रबाट इमन्दारीपूर्वक र न्यायोचित हिसाबले काम गर्न सुझाव दिनुभयो ।
सभामुख यादवले मधेस प्रदेशसभा पारदर्शी, उत्तरदायी र जनमुखी बनाउने दिशामा आफू प्रतिबद्ध रहेको भन्दै यसमा सञ्चारकर्मीको सहकार्य अपरिहार्य रहेको उल्लेख गर्नुभयो । कार्यक्रममा सहभागी पत्रकारहरूले पनि प्रदेशका समसामयिक विषय, प्रेस स्वतन्त्रता र सूचनाको पहुँचसम्बन्धी जिज्ञासा तथा सुझाव राखेका थिए ।
सभामुख यादवले पत्रकारिता लोकतन्त्रको चौथो अङ्ग भएको उल्लेख गर्दै यसलाई इमानदारी, निष्पक्षता र जिम्मेवारीका साथ निर्वाह गर्नुपर्ने भन्नुभयो । उहाँले जनताको आवाजलाई राज्यका निकायसम्म पुर्याउन पत्रकारहरूले खेलेको भूमिकाको प्रशंसा गर्दै सत्य र तथ्यमा आधारित पत्रकारिताले समाजलाई सही दिशातर्फ लैजाने विश्वास व्यक्त गर्नुभयो ।














