एजेन्सी , पुष – १२
पूर्वी भारतीय राज्य उडिसामा प्रहरीसँग भएको गोली हानाहानमा छजना नक्सलवादी विद्रोही मारिएका छन् । मारिनेहरूमा एकजना शीर्ष कमान्डरसमेत रहेको अधिकारीहरूले जनाएका छन्।
उडिसाको राजधानी भुवनेश्वरबाट करिब २७१ किलोमिटर पश्चिममा पर्ने कान्धमाल जिल्लामा प्रहरी र नक्सलवादीबीच मुठभेड भएको हो। उडिसाका प्रहरी प्रमुख योगेशबहादुर खुरानियाका अनुसार बुधबार कान्धमालमा ठूलो परिमाणमा गोलाबारुद बरामद गरिएको थियो। त्यसको फलो–अप अपरेशनका क्रममा बिहीबार कान्धमाल–गन्जाम सीमामा विभिन्न स्थानमा गोली हानाहान हुँदा थप चारजना नक्सलवादी मारिएका हुन्।
प्रहरीका अनुसार मारिएकामध्ये एकजना उडिसा कमान्डका प्रमुख तथा नक्सलवादी केन्द्रीय समितिका सदस्य गणेश उइकेका रूपमा पहिचान भएका छन्। उनी धेरै ठूला आक्रमणमा संलग्न रहेको प्रहरीले जनाएको छ।
विशेष गुप्तचर सूचनाको आधारमा संयुक्त खोजी अभियान चलाइएपछि मुठभेड भएको बताइएको छ। भारतका गृहमन्त्री अमित शाहले उक्त अभियानलाई ठूलो सफलता भन्दै प्रशंसा गरेका छन्।
भारत सरकारले सन् २०२६ मार्च ३१ सम्म नक्सलवाद उन्मूलन गर्ने लक्ष्य लिएको छ। मध्य र पूर्वी भारतमा सक्रिय नक्सलवादी विद्रोहका कारण सयौंको ज्यान गएको र हजारौं विस्थापित भएका छन्।














