फुसको घरबाट एमबीबीएससम्म : सत्यनारायण साफीको संघर्ष र सपनाको कथा

वीरगंज , पुष – १२

सिरहा जिल्लाको बरियारपट्टी गाउँपालिका–२, श्रीपुर। फुसको छानो, दिउँसै अन्धकार हुने सानो घर। यही घरभित्र बसेर सत्यनारायण साफीले यस्तो सपना देखे, जसले आज हजारौँलाई प्रेरित गरिरहेको छ। अत्यन्तै अभावबीच हुर्किएका सत्यनारायणले एमबीबीएस पूर्ण छात्रवृत्तिमा नाम निकाल्दै गरिबी कमजोरी होइन भन्ने कुरा प्रमाणित गरिदिएका छन्।

सत्यनारायणको पढाइ निःशुल्क भए पनि एमबीबीएस अध्ययनका लागि बजारमा बस्ने र खानपानको खर्च ठूलो चुनौती बनेको थियो। आर्थिक अभावकै कारण डाक्टर बन्ने सपना अधुरो रहने खतरा देखिएको यो विषय स्थानीय सञ्चारमाध्यमर्फत सार्वजनिक भएपछि सत्यनारायणको कथा सामाजिक सञ्जालमा छ्याप्छ्याप्ती फैलियो।

त्यसपछि देखियो, समाज अझै मरेको छैन। मनकारी हातहरू अघि बढ्न थाले। अभियन्ता आशिका तामाङले सत्यनारायणको घरमै पुगेर एक लाख रुपैयाँ सहयोग गरेकी छन्। यो सहयोगले मात्र होइन, दिएको भरोसाले पनि सत्यनारायणको आत्मबल अझ बलियो बनाएको छ।

त्यसैगरी नेपालकै चर्चित फेसबुक पेज ‘RONB’ का सञ्चालक भिक्टर पौडेलले पनि एक लाख रुपैयाँ सहयोग गर्ने घोषणा गरिसकेका छन्। यस्तै, अन्य धेरै व्यक्तिहरूले पनि सहयोग गर्ने प्रतिबद्धता जनाएका छन् ।

फुसको घरबाट सुरु भएको यो संघर्ष आज आशाको उज्यालोतर्फ लम्किएको छ। अब सत्यनारायण साफीको एमबीबीएस डाक्टर बन्ने सपना साकार हुने विश्वास बलियो बनेको छ। उनको सफलताले एउटै सन्देश दिएको छ— गरिबी बाधा हुन सक्छ, तर सपनाको अन्त्य होइन

सम्बन्धित पोस्टहरुः