वीरगंज , पुस – १३
लामो छलफलपछि राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबीच सातबुँदे सहमति भएको छ। सहमतिअनुसार पार्टीको नाम रास्वपा नै रहने, चुनाव चिन्ह घण्टी हुने तथा पार्टी सभापति रवि लामिछाने रहनेछन्।
प्रतिनिधिसभा निर्वाचनपछि संसदीय दलको नेता र भावी प्रधानमन्त्रीको उम्मेदवार बालेन शाह बन्ने सहमति भएको हो।
सहमति अनुसार भ्रष्टाचार र कुशासनविरुद्धको आन्दोलनको अपनत्व लिँदै घाइते र शहीद परिवारका माग सम्बोधन गर्ने, आगामी दस वर्षभित्र नेपाललाई मध्यम आय भएको राष्ट्र बनाउने मार्गचित्र कार्यान्वयन गर्ने तथा पार्टी संगठनलाई योग्यता, समावेशिता र सार्वजनिक छविका आधारमा विस्तार गर्ने प्रतिबद्धता जनाइएको छ।
यस्तै, एकतापछि पार्टीका आवश्यक दस्तावेज निर्वाचन आयोगमा अद्यावधिक गर्ने र लोकतान्त्रिक सुशासन तथा सामाजिक न्यायका मुद्दामा अन्य वैकल्पिक राजनीतिक शक्तिलाई पनि आव्हान गर्ने उल्लेख छ।
यसअघि उज्यालो नेपाल पार्टीलाई समेट्ने प्रयास भए पनि संरक्षक कुलमान घिसिङको असहमतिपछि रास्वपा र बालेन शाहबीच मात्रै एकतामा सहमति भएको हो।















