काठमाडौं । क्यासिनो खेलाउने नाममा ग्राहकलाई नै ठगी गर्ने तथा प्रतिवन्धित आर्थिक कारोबारको आरोपमा क्यासिनो वाल्डोका सञ्चालक पक्राउ परेका छन् ।
जिल्ला प्रहरी परिसर, काठमाडौंका प्रवक्ता एसपी पवनकुमार भट्टराईका अनुसार फरार अवस्थामा रहेका उनलाई परिसरको टोलीले काठमाडौंबाटै नियन्त्रणमा लिएको हो । पक्राउ पर्ने सञ्चालक ७५ वर्षीय CHAN MAN CHYING हुन् ।
ठमेलस्थित छायाँ सेन्टरमा सञ्चालित क्यासिनो वाल्डोमा इभेन्ट नै आयोजना गरी तासमा चिप्स र आँखामा विशेष प्रकारको लेन्स लगाई ठगी हुने गरेको खुलासा केही दिनअघि प्रहरीले गरेको थियो । उक्त आरोपमा सुरेश माहाजन, दिनेश बर्मा, विक्रम सिंह , प्रमोद मौर्य, चिजा खड्का र भवानी पाण्डे पक्राउ परेका थिए ।
क्यासिनोका नेपाली सञ्चालक सञ्चालक विनोद भन्ने जनार्दन उप्रेती, गौरव खत्री, मोनु भन्ने निरजकुमार, हीरा शेखर मल्ली पुरी, कमल खरबन्दा र मुकेश फरार रहेको बताएको प्रहरीले आज चिनियाँ लगानीकर्ता पक्राउ परेका हुन् । उनी उक्त क्यासिनोका मुख्य सञ्चालक रहेको प्रवक्ता भट्टराईले बताए ।
उक्त क्यासिनोमा डिसेम्बर ११ देखि १४ तारेखसम्म भारत र नेपालका विभिन्न समूह मिलेर इभेन्ट आयोजना गरिएको थियो । महाकाय समूहका मुख्य व्यक्ति सुरेश महाजनले नक्कली खेलाडीको व्यवस्थापन गरेको र चिप जडित ताज र विशेष प्रकारको लेन्सको जोहो गरेको प्रवक्ता भट्टराईले पत्रकार सम्मेलनमा बताएका थिए ।
ठगी गर्नैका लागि ५० प्याकेट म्याग्नेट जडित तास र ४ सय लेन्स भारतबाट खरिद गरेर ल्याएको पाइएको थियो । आँखामा विशेष प्रकारको लेन्स लगाएपछि तासको दुवैतर्फ देखिने र अन्य खेलाडीलाई ठगी गर्ने स्पष्ट नियत देखिएको अनुसन्धानबाट खुलेको प्रहरीले जनाएको थियो ।
ठगी गरेर जितेको रकमको ९० प्रतिशत इभेन्ट सञ्चालकले र बाँकी १० प्रतिशत खेलाडीले पाउने गरी सञ्चालक सुरेश माहाजन र दिनेश बर्माबीच सहमति भएको समेत अनुसन्धानबाट खुलेको थियो ।
पक्राउ परेका व्यक्तिका साथबाट प्रहरीले नेपाली र भारतीय रूपैयाँ, चिप जडित तास, लेन्स, हवाई टिकटलगायतका सामान बरामद गरेको छ । वाल्डो क्यासिनोले समेत कानून उल्लंघन गरेको देखिएकाले पर्यटन विभागसँग समन्वय गरेर आवश्यक कारबाही अघि बढाइने प्रहरीले जनाएको छ ।













