रक्सौल, १३ पुस । भारत, रक्सौलस्थित आइसिपी बाइपास रोडको ओभरब्रिज नजिकबाट हरैया प्रहरीले ठूलो परिमाणमा गाँजासहित एकजना नेपालीलाई पक्राउ गरेको छ ।
एसडीपीओ मनीष आनन्दले आइतवार पत्रकार सम्मेलनको आयोजना गरी नेपालबाट आउँदै गरेको एक भारतीय नम्बरको पिकअप गाडीमा तहखाना बनाई गाँजा लुकाएर ल्याउदैछ भन्ने सूचनाको आधारमा आईसीपी बाइपास रोडको ओभरब्रिज नजिकै सवारी साधन जाँच गर्ने क्रममा गाँजा बरामद गरिएको बताए ।
पिकअप गाडीभित्र बनाइएको तहखानाबाट ८२.९६० किलोग्राम गाँजासहित अंकुश गुप्ता र उनका पिता ललन प्रसादलाई पक्राउ गरिएको भारतीय प्रहरीले जनाएको छ । दुवैजनाको स्थायी घर वीरगंज रहेको उनले बताए ।
पत्रकार सम्मेलनमा हरैया थानाध्यक्ष किशन कुमार पासवान तथा अपर थानाध्यक्ष सोनलाल कुमार लगायतको उपस्थित थिए ।














